भ्रष्टाचार मुद्दामा अख्तियारको नयाँ रेकर्ड : एक वर्षमा चार सय ४० मुद्दा दायर

काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका लागि आर्थिक वर्ष ०७६/७७ दुई कारणले विशेष रह्यो । एउटा, यो वर्ष उसले मुद्दाको संख्यामा नयाँ रेकर्ड राख्यो, अर्को अहिलेसम्मकै हाइप्रोफाइल मुद्दा दायर गर्‍यो । आयोगले यो आवमा चार सय ४० वटा मुद्दा दायर गरेको छ । एक वर्षमा यति धेरै मुद्दा दायर भएको पहिलो पटक हो । यसअघि सबैभन्दा धेरै गत आवमा तीन सय ५१ वटा मुद्दा दायर भएको थियो । मुद्दाको संख्यामा यो वर्ष विगतको रेकर्ड तोडिएको आयोगका प्रवक्ता प्रदीप कोइरालाले बताए ।

धेरैजसो मुद्दा तल्लो तहका कर्मचारीविरुद्ध छ । केही ठूला मुद्दा पनि आयोगले दायर गरेको छ । आयोगले बहुचर्चित बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा आफ्नै पूर्वप्रमुख आयुक्त तथा चार पूर्वमन्त्रीविरुद्ध मुद्दा दायर गरेको थियो । यद्यपि सो मुद्दामा आयोगको प्रशंसाभन्दा आलोचना धेरै भयो । नेकपाका नेता विष्णु पौडेलका छोरा नवीन तथा सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीलाई जग्गा फिर्ता दिने सर्तमा उनीहरूलाई मुद्दा नचलाउने निर्णय गरिएको थियो । दबाबको भरमा उनीहरूलाई जोगाइएको आरोप आयोगमाथि लागेको छ ।

नवीनकुमार घिमिरे आयोगको प्रमुख आयुक्त भएपछि आयोगको सक्रियता बढेको छ । तर, आयोगको अनुसन्धान तल्लो तहमा मात्र केन्द्रित भएको आरोप लागेको छ । यो अवधिमा आयोगले कुनै पनि नेताविरुद्ध अकुत सम्पत्ति आर्जनको मुद्दा दायर गर्न सकेको छैन । अन्य भ्रष्टाचारमा पनि तल्लो तहका कर्मचारी मात्र छन् । नयाँ पत्रिकाबाट

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्