विचरा राजनीतिक संस्कार, हामी कहिलेसम्म मानव ढाल बनिरहने ?

विष्णु कुमार श्रेष्ठ
‘विष्णु पुरुष’

राष्ट्रिय राजनीतिलाई हेर्दा नेपालमा कम्युनिष्ट विचारको जन्मभएको धेरै भएको छैन । २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको हो। २०४७ सालको चैतमा नेकपा (माले) र माक्र्सवादी पार्टीबीच ऐतिहासिक पार्टी एकता सम्पन्न भयो । पार्टी एकतापछि नेकपा एमाले गठन भयो । नेकपा एमालेको गठनपछि नेकपा(अमात्य) समूह पार्टी एकीकृत भयो ।

त्यसैगरी नेकपा (माओवादी), नेकपा (मसाल), नेकपा (चौम), नेकपा (मानन्धर), नेकपा (वर्मा) र नेपाल मजदुर किसान पार्टीबाट थुप्रै नेता र कार्यकर्ता पार्टीमा एकताबद्ध भई आजको नेकपा एमाले बनेको हो । अहिले नेकपा एमाले नेपालको प्रजातान्त्रिक तथा कम्युनिस्ट आन्दोलनको मूलधार बन्न पुगेको छ ।

२०७४ को प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रले चुनावी तालमेल गरे । २०७५ जेठ ३ गते दुई पार्टीले एकता गरे । पार्टी एकीकरण गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राखी निर्वाचन आयोगमा दर्ता भयो ।अध्यक्ष दुवै दलका अध्यक्ष बने ।सुरुको दुई वर्ष राम्रैसँग पार्टी चल्यो । त्यसपछि उतार चढाब बढ्दै गयो । अन्ततः ३९ महिनापछि पार्टी राजनीतिक रुपमा विभाजन भयो ।

पार्टी एकता भएको २ वर्ष नपुग्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अहिले ३ टुक्रामा विभाजित छन् ।माधव कुमार नेपाल र प्रचण्डका केही स्वार्थका कारण पार्टी विभाजन भएसँगै यसको असर स्थानीय तहसम्म पुगेको छ । यसले स्थानीय नेता तथा कार्यकर्ताहरुको मनमा धाँजा फाटेको छ । वषौंदेखि सूर्य चिन्हमा मतदान गर्दै आएकाहरुमा घात भएको छ ।

राष्ट्रिय राजनीतिको आधार स्थानीय राजनीतिक परिवेशले निर्धारण गर्छ । त्यहि स्थानीयलाई मानव ढाल बनाएर, उनीहरुको बुईँ चढेर केही नेता माथि पुगे, सबै शक्ति प्रयोग गरेर उनीहरुलाई त्यहाँसम्म पुर्याउने हामी कार्यकर्ता र मतदाता भने मानव ढाल मात्रै बनेर बसिरह्यौँ ।धादिङको साबिकको चैनपुर गाविस नेकपा एमालेको गढ हो ।

त्यो गढ हामीले नै बनाएका हौँ । हामी आदिवासी, जनजाती, गरीब, दलित, महिला लगायत उत्पीडनमा परेका वर्गले संघर्ष नगरेको भएआज कम्युनिष्ट पार्टीको खोल ओडेर राजनीति गर्नेहरुको दैनिकी रातारात परिवर्तन हुँदैन थियो ।तर, २०३६ सालदेखि भुमिगत राजनीतिक यात्रा सुरु गरेको कार्यकर्ता पटक–पटकको चुनावमा मानव ढाल बनाईनु बाहेक अरु केही हुन सकेनन् ।

उनै नेतृत्व, जसलाई हामीले नै नेता बनायौँ । हामीले नै सबल र सक्षम बनायौँ । तर, हामी स्थानीय कार्यकर्ताको मन बुझाउन उनीहरु कहिल्यै सकेनन् । हामी कार्यकर्ताहरु जता भन्यो त्यतै गयौँ ।

अब भने बाध्य भएर हामीले सोच्नुपर्ने बेला आएको छ, ‘हामीहरु अझै कति समय उनीहरुको मानव ढाल बनेर बसिरहने ?उनीहरुले जता भन्यो त्यतै र जे भन्यो त्यहि गरेर कति समय दौडने ?’

सबैभन्दा आश्चर्य त के छ भने, कसैले कुन पार्टीको कार्यकर्ता हो ?भनेर सोधेमा नेकपा एमालेको कार्यकर्ता रे ! तर पहिचानको प्रश्नमा भने नाजवाफ ।

एउटा बिडम्बना त के भने, जो ४२ वर्षभन्दा बढि समय सूर्य चिन्हलाई मायाँगर्दै गाउँ र बस्तीहरुमा जनलहर सिर्जना गर्दै यहाँसम्म आइपुगे, अहिलेसम्म उसँग पार्टीको साधारण सदस्य समेत छैन ।जसले नेकपा एमालेको सूर्य चिन्हको लागि आर्थिक, नैतिक, भौतिक, सम्पूर्ण सहयोगमा कुनै कसुर राखेनन्, उसँग नै आफू नेकपा एमाले भएको प्रमाण छैन ।

ज्वालामुखी गाउँपालिकाको साबिकको चैनपुर गाविसमा झण्डै ७० प्रतिशत मतदाता जनजाती, दलित, महिला र उत्पीडनमा परेका वर्गहरु छन्। उनीहरुले उपल्लो वर्गका भनिएका मानिसहरुलाई माथि उकास्ने काम मात्रै गरे ।

सामाजिक र राजनीतिक रुपमा संधै तल नै परिरहे ।
अब चुनाव आउन लाग्यो, एउटा जनजाति/दलित/उत्पिडनमा परेका समूदायबाट जन्मलिएकाले नेतृत्वमा जाने मन गर्यो । त्यहि समुदायकै बलमा सामाजिक, राजनीतिक, वर्गिय र सबै हिसाबले अगाडि पुगिसकेका मानिसहरुको साथ चाहिने बेला आयो । अनिउनीहरु भन्दै छन्, अब हामीहरुको बाटो फरक भयो ।

जसले नेकपा एमालेको नामबाट जनवादीगीत मार्फत समाजमा भएको अन्याय र अत्यचारविरुद्ध विगुल फुक्दै बोल्न सिकाए, उनीहरु नै आज नेकपा एमालेको विरुद्धमा मोर्चाबन्दी कसेर हिँडेको देख्दा आश्चर्य लाग्छ ।

जसले पार्टीको साधारण सदस्य समेत नलिएर नेकपा एमालेका लागि ठूलो त्याग गरे, उनीहरुको अहिलेसम्मको पसिनाको मूल्य अब कसले तिर्छ ?

यति धेरै वर्षसम्म उनीहरुकै लागि त्याग गर्ने कार्यकर्तालाई केही स्थानीय नेताहरु भन्दै छन्, ‘अब हामी नेकपा एमाले छाडौँ । सूर्य चिन्हलाई त्यागौँ, नेकपा एकीकृत समाजवादीतिर सँगै पोइल जाऔँ ।’

हामीलाई आज हाम्रो मनमा वर्षौंदेखि जगडीएर बसेका प्रश्नहरुले प्रतिप्रश्न गर्दैछ ।साबिकको चैनपुर गाविस, हाल ज्वालामूखी गाउँपालिकाबाट नेकपा एमालेलाई एमाले बनाउने हामी जस्ता कार्यकर्ताहरु किन यसरी निरश बन्नुपर्ने अवस्थामा छौँ ?

के कार्यकर्ताहरु नेताहरुको दास हुन् ?तिमि संधै मालिक, हामी संधै कारिन्दा? यो प्रवृत्तिको अन्त्य कहिले हुन्छ ?

जहाँ ७० प्रतिशत जनजाती, दलित, उत्पीडनमा परेकाहरुको वसोवास छ, त्यहाँ गैर जनजाती र गैर दलितले नातावाद, कृपावाद, टिके प्रवृत्तीले सत्तामापुग्न फेरि पनि कोसिस गर्दै छन् । यस्तो शासनसत्ता स्वीकार्दै फेरि पनिपोइल जाने तवरमाहाम्रा सोझा साझा जनता ? धिक्कार छ हामीलाई जसलाई नेता मानेर ज्यानको बाजी थाप्दै रगतको आहाल बनाउन समेत पछि परेनौँ ।

माफि चाहन्छौँ मेरो त्यो स्वचालित दिमाख र स्वचालित मनप्रति ।संगठन कमजोर भएको बेलामा हामीले गरेको स्वचालित प्रहारप्रति आमा, वुवा, दाजु, भाई सबैमा क्षमा चाहन्छु ।

तत्कालिन नेकपा एमाले र अहिलेको नेकपा एकीकृत समाजवादीको नेतृत्वमा पोइल जाने र फेरि उनीहरुलाई नै मथि लैजाने काममा हामी लाग्दै नलागौँ । हामी संघै उनीहरुको मानव ढाल होइनौँ । उनीहरुले जताभन्यो त्यतै जाने कुरा गर्दै नगरौँ । आफ्नै घरमा बसेर आफ्नो अधिकारका लागि लडौँ ।

आउँदो चुनावमा व्यक्ति होइन प्रवृत्ति सही छानौँ । नेकपा एमालेमै बसेर सूर्य चिन्हलाई मायाँ गरौँ । सुखी नेपाली, समृद्ध नेपालको सपनालाई हाम्रै पालामा साकार पारौँ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्