मोटरसाइकलको आफूखुसी स्वरुप परिवर्तन गरे १५ हजारसम्म जरिवाना

काठमाडौं । आफूखुसी अनुमति नलिई सवारी साधनको रंग फेर्न वा कुनै किसिमको परिवर्तन गरे कारबाही हुने कानुनी व्यवस्था छ। यसरी आफ्खुसी कुनै किसिमको परिवर्तन गरेमा ट्राफिक प्रहरीले २४ घण्टे पूर्जी काटी सवारीको ब्लूबुक नियन्त्रणमा लिएर कारबाहीका लागि यातायात व्यवस्था कार्यालयमा पठाउने गर्दछन् ।

सवारी कस्तो छ भन्ने ब्लू बुकको सवारी विवरण पानामा लेखिएको हुन्छ। त्यो विवरण पानामा भएको भन्दा फरक सवारी साधन छ भने अनुमति नलिई सवारी साधनको स्वरुप फेरेको ठहरिन्छ। यसरी गरिएको परिवर्तन ट्राफिक प्रहरीले ब्लूबुक चेक गर्दा कारबाहीका लागि सवारी दर्ता भएको कार्यालयमा लेखि पठाउँछन्।

सवारी साधनको स्वरुपका बारेमा ब्लूबुकका साथै कम्पनीबाट जारी भएको स्पेसिफिकेसनमा समेत उल्लेख भएको हुन्छ। यस्तो विवरणमा कुनै फेरबदल गर्नु परेमा अनुमति लिनुपर्ने व्यवस्था छ। बागमती प्रदेशको प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७५ को दफा ४३ बमोजिम अनुमती नलिई सवारीको स्वरुप परिवर्तन गर्न रोक लगाइएको छ।सवारीधनीले स्वरुप परिवर्तन गर्न चाहेमा स्वीकृतिका लागि ऐनको उपदफा (२) बमोजिम सवारी दर्ता भएको कार्यालयमै निवेदन दिन सकिने व्यवस्था छ। सवारीको अन्य पार्ट परिवर्तनभन्दा पनि इन्जिन र चेसिसमा भएको परिवर्तन अझ बढी सम्वेदनशील मानिन्छ। इन्जिन र चेसिसको नम्बर केरमेट भयो वा नबुझिने भयो वा बदलियो भने यो अझ बढी गहन विषय बन्छ र सवारी साधन जफतसमेत हुन सक्ने कानुनी व्यवस्था छ।  

त्यसैले कम्पनीले निर्धारण गरेको स्पेसिफिकेसन र दर्ता प्रमाणपत्र र ब्लूबुकमा लेखिएको विवरणमा फरक पर्ने गरी कुनै प्रकारको हेरफेर गर्नु पाइदैन। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्