देउवालाई सिटौला, गच्छदार र थापाको समर्थन

काठमाडौं, १० भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको आगामी फागुनमा हुने १४औं महाधिवेशनको चर्चा शुरु भएसँगै नेतृत्वको बारेमा पनि जोडघटाउ हुन थालेको छ । नेपाली काँग्रेसले तोकिएकै मितिमा महाधिवेशन सम्पन्‍न गर्नेमा भने शंका छ । उम्मेद्वारको दौडादौड बाहेक महाधिवेशनका अन्य कार्यहरु सुरु भएकै छैनन् ।

नेपाली काँग्रेसको १४औं महाधिवेशनमा हालका सभापति शेरबहादुर देउवा सहित झण्डै एक दर्जन नेता सभापतीको आकांक्षी छन् । सभापतीमा दाबी गर्ने केही नेता देउवा गुटकै पनि छन् । काँग्रेस सभापतिको लागि देउवासहित नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला, विमलेन्द्र निधि, प्रकाशमानसिंह श्रेष्ठ, डा.शेखर कोईराला, डा.शशांक कोईराला, गगन थापा, डा.रामशरण महत, सुजाता कोईराला, गोपालमान श्रेष्ठले पनि दाबी गरेका छन् । यीमध्ये निधि र गोपालमान श्रेष्ठ देउवाकै गुटका हुन् ।१३औं महाधिवेशनमा देउवासँगै पराजित पौडेल र सिटौलाले यसपटक पनि सभापतिमा दाबी गरेका छन् । यद्यपि कार्यकर्तावृत्तमा उनीहरुको चर्चा कम छ । सिटौला गुटका गगन थापा र रामचन्द्र गुटका कोईराला दाजुभाईसँगै महत र प्रकाशमान श्रेष्ठले पनि सभापतिमा दाबी गरेपछि गुटभित्रै खटपट देखिन थालेको छ । यदि आफ्नो गुट ब्यवस्थापन र अन्य सबै गुट छिन्‍नभिन्‍न भएमा पुनः देउवाले बाजी मार्ने छन् ।

महाधिवेशनमा सबैले आ–आफ्नो दाबी गरिरहँदा सभापतिमा पुनःउम्मेद्वारी दिन लागेका देउवालाई भने महाधिवेशन फागुनमा गर्दा हारिन्छ भन्‍ने ज्योतिष भविष्‍यवाणीले तनाव थपेको छ । भाग्यरेखामा विश्‍वास गर्ने देउवालाई केही ज्योतिषले फागुन महिना त्यति फलदायी नभएको र यो महिना महाधिवेशन भएमा पराजित हुनसक्ने भनेपछि उनले महाधिवेशन सार्ने उपायको खोजी समेत गरिरहेको स्रोतको दाबी छ ।सधैंजसो ज्योतिषलाई हेराएर मात्रै कार्य थालनी गर्ने देउवाले यस अघि पनि विभिन्‍न ज्योतिष र बाबाजीका कुरा सुनेर निर्णय लिँदै आएका थिए । उनलाई ज्योतिषले ७ पटक नेपालको प्रधानमन्त्री हुने भाग्यरेखा अर्थात राजयोग छ भनेपछी उनी उत्साही छन् । कहिले कालो बोका काटेर कार्यथालनी गर्ने, कहिले मठमन्दिर पुगेर दिनभर होम गर्ने, कहिले विभिन्‍न बाबा र ज्योतिषकहाँ पुगेर चिना हेराउने देउवाले यो पटक फागुन महाधिवेशनको खड्को कसरी काट्छन् त्यो भने हेर्न बाँकी नै छ ।

तर, देउवाको लागि अर्को खुसीको खबर समेत बाहिर आएको छ । बालुवाटार जग्गा प्रकरणमा नाम जोडिएपछि सार्वजनिक कार्यक्रममा कम देखिएका विजयकुमार गच्छदार र भर्खरै काँग्रेस प्रवेश गरेका राप्रपा नेता सुनिलबहादुर थापाको समूहले भने विनाशर्त देउवालाई नै सघाउने देखिएको छ । यसबाहेक कृष्ण सिटौला समूहमा पनि सभापतिमा देउवालाई सघाएर बाँकी पदाधिकारीको भागबण्डामा सहभागी हुने बारेमा छलफल चलेको केही नेता बताउँछन् ।

आफ्नै गुटका विमलेन्द्र निधि र गोपालमान श्रेष्ठले सभापती दाबी गरको कुरा पनि देउवाकै डिजाईन भएको चर्चा समेत चलेको छ । कार्यकर्ता पौडेल वा कोईराला गुटतिर नजाउन भनेर देउवाले यो रणनिती बनाएका हुन् ।काँग्रेसमा यसपटक कोईराला परिवारमा नेतृत्व फर्काउने योजनामा शशांक, शेखर र सुजाता छन् भने गणेशमानपुत्र प्रकाशमानसिंह पनि बाबुको विरासत धान्‍न सभापति जितेर काँग्रेस एक बनाउने आफ्नो सपना रहेको बताउँछन् । त्यसैगरी युवापुस्ताका नेताहरु पार्टी नेतृत्वमा सबै युवा मिलेर हस्तक्षेप गर्नुपर्ने बताउँदै आएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्