महामारीको छ महिना : यसरी गर्दैछ धादिङ अस्पतालले कोभिड र ननकोभिड बिरामीको उपचार !

विमला तिमिल्सिना(महरा)

सुरुवाति दिनको त्यो त्रास :
गत माघ महिनामा नेपालमा १ जनामा कोरोना संक्रमण देखिएर निको भईसक्दा समेत कसैलाई खासै चाँसो थिएन । जब चैत्र १० र ११ गत्ते काठमाडौंकी एक युवती, धादिङका एक युवा र बाग्लुङकी एक युवतीमा कोरोना संक्रमण पुष्टि भयो तब हामी स्वास्थ्यकर्मी र आम जनताको होश उडाएको उडायो ।

न कुनै तालिम, न कुनै व्यक्तिगत सुरक्षा उपकरण । एकातिर डर र अर्कातिर जिम्मेवारी आइसकेपछि एक स्वास्थ्यकर्मीको हैशियतले न कुनै डर मानेर छुट थियो न त्राशले विदा नै पाइन्थ्यो । जतिजति संक्रमणको दर बढ्दै गयो त्यतित्यति हामी स्वास्थ्यकर्मी पनि निरन्तर स्वास्थ्य उपचारमा खटियौँ । कहिल्यैँ संक्रमणको डर र त्रासले उपचार गर्नबाट पछि हटेनौँ । जनतालाई स्वास्थ्य सेवा दिइरह्यौं र दिइरहेका छौं । 

सेवा प्रभावितहुन नदिन वैकल्पिक व्यवस्था :

जनताले पाउने आधारभुत स्वास्थ्य सेवा देखि अस्पतालले दिनसक्ने विशेषज्ञ सेवाबाट जनतालाई कहिल्यै वञ्चित गरेनौँ । कोभिड १९ संक्रमणको पहिलो दिनदेखि आजसम्म अत्यावश्यक सेवा २४ सै घण्टा खुला नै रह्यो ओ.पि.डी. सेवा भने अस्पतालका ७ जना स्वास्थ्यकर्मीहरुलाई आर.डी.टी. पोजेटिभ देखिएपछि छ महिनामा जम्मा एक साताका लागि बन्द भएको थियो । स्वास्थ्यकर्मीहरुलाई आर.डी.टी. पोजेटिभ देखिएपछि गत जेठ ७ गत्तेपछि एक साताका लागि बन्द हुनपुग्यो ।

त्यसपछिकेही दिन दैनिक १२ घण्टा डिउटी गर्दै कम एक्सपोज भई सेवा प्रदान गरिएको थियो भने त्यसयता ट्राभल हिष्ट्री सहित शङ्कास्पद बिरामीहरुको प्रत्यक्ष सम्पर्कमा आएका स्वास्थ्यकर्मीहरुलाई क्वारेन्टाईनमा राख्दै अन्य स्वास्थ्यकर्मीहरुद्वारा ओ.पी.डी. लगायत सबैसेवाहरु निरन्तर दिइदै आएको छ ।

अहिले बिरामीहरुको धेरै भीडभाड हुने काठमाडौंस्थित देशकै सबैभन्दा ठुलो वीर अस्पताल देखि भरतपुर अस्पताल, विराटनगरस्थित कोशी अस्पताल, धनगढीको सेती प्रादेशिक अस्पताल लगायत देशभरीका धेरैजसो प्राईभेट अस्पतालहरुमात्रै नभएर विरामीको चाप अति न्युन भएका हिमाली जिल्लाका प्राथमिक स्वास्थ्य केन्द्रहरुका कार्यरत स्वास्थ्यकर्मीहरुसमेत ठुलो संख्यामा कोभिड १९ संक्रमित भईरहदा बागमती प्रदेशस्थित धादिङ अस्पताल भने आफ्ना स्वास्थ्यकर्मीहरुलाई कोभिड १९ संक्रमण हुनबाट जोगाउदै अस्पतालका आकस्मिक एवं नियमित सेवाका साथै कोभिड १९ संक्रमणका विरामीहरुको उपचार समेत गर्दै आएको छ।

देशभर यति ठुलो संख्यामा स्वास्थ्यकर्मीहरु संक्रमित भइरहदा धादिङ अस्पतालले आफ्ना स्वास्थ्यकर्मी तथा अस्पतालमा उपचाररत विरामीहरुमा संक्रमण फैलिन नदिई कोभिड र ननकोभिड बिरामीहरुलाई निरन्तर दिदै आएको सेवालाई सबैले सकारात्मक रुपमा लिएका छौं । 

संक्रमण फैलिन नदिन उच्च सतर्कता :

देशभर यतिधेरै स्वास्थ्यकमीहरु संक्रमित भईरहदा धादिङ अस्पतालले स्वास्थ्यकर्मी र अस्पताल भित्र संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाएको छ ।अस्पतालमा नियमित रुपमा फिभर क्लिनिक सञ्चालनमा छ । फिभर क्लिनिकले शंकास्पद तथा लक्षणयुक्त व्यक्तिहरुलाईअस्पतालकै आईसोलेशनमा राख्ने र लक्षण नभएकाहरुलाई होम क्वारेन्टाइनमा बस्न अनुरोध गर्ने गरेको छ । स्वास्थ्यकर्मी, बिरामी, बिरामी कुरुवा तथा अस्पताल भित्र प्रवेश गर्ने सबैले अनिवार्य मास्कको प्रयोग गर्दै र गराउदै आएको छ ।अस्पतालको फेसबुक पेजबाट नियमित जसो कोभिड १९ सम्बन्धी सूचनाहरु राख्दै आएको छ । 

कोभिड बिरामीको उपचारःछुट्टै मापदण्ड :

धादिङ जिल्लामा संक्रमित भेटिएसंगै शंकास्पद विरामी र कोभिड १९ पोजेटिभहरुका लागि छुट्टै आईसोलेशन बनाईएको छ । धादिङ अस्पताल अन्तर्गत आइसोलेशनका लागि ४ जना छुट्टै स्टाफ नर्स र अन्य डाक्टरहरु २४ सै घण्टा खटिएका छन् । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार कोभिड १९ को उपचारमा सङ्लग्न स्वास्थ्यकर्मीहरु १४ दिनको डिउटी पश्चात एक हप्ता क्वारेन्टाइन बसी कोभिड १९ परिक्षणपश्चात मात्रै पुःन उपचारमा खटिने गरेका छन् ।

आईसोलेशनमा कोभिड १९ का बिरामीहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले अनिवार्य उच्च गुणस्तरीय व्यक्तिगत सुरक्षा उपकरण (पि.पि.ई.) र सेनिटाइजरको प्रयोग गर्दै आउनुभएको छ । संक्रमित एवं शंकास्पद विरामीहरुको आईसोलेशन अस्पतालभन्दा छुट्टै हुनुले पनि अस्पतालले अन्य बिरामीहरुको उपचार नियमित गर्न सकेको छ । यसको अर्को फाइदा भनेको अन्य अस्पतालहरुमा झैं धादिङ अस्पतालका स्वास्थ्यकर्मी र अस्पतालमा उपचाररत अन्य बिरामीहरुमा कोभिड संक्रमण फैलिनबाट रोकिएको हामी स्वास्थ्यकर्मीहरुले महशुस गरेका छौं । 

नियमित अभिमुखीकरण र स्वास्थ्यकर्मीहरुको परिक्षण :

समय–समयमा अस्पतालले कन्टिनियस मेडिकल एजुकेशन कक्षाहरु राख्दै आएको छ । ईन्फेक्शन प्रिभेन्सन ट्रेनिङ मार्फत कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचार सम्बन्धमा अपनाउनु पर्ने आवश्यक स्वास्थ्य सुरक्षा सम्बन्धी अभिमुखीकरण गरिदै आएको छ । समय–समयमा अस्पतालले आफ्ना सबै कर्मचारीहरुको कोभिड १९ परिक्षण गराउदै आएको छ ।

कोभिड १९ को प्रत्यक्ष उपचारमा सङ्लग्न स्वास्थ्यकर्मीहरुको हरेक १४ दिनमा र नेपाल सरकारले पछिल्लो समय सबै स्वास्थ्यकर्मीहरुको कोभिड १९ परिक्षणपछि मात्रै उपचारमा खटाउनु भन्ने निर्देशनबोजिम समय समयमा परिक्षण गरिदै आएको छ । पछिल्लोपटक भदौ २ गत्ते अस्पतालका ३९ जना स्वास्थ्यकर्मीहरुको कोभिड १९ को नतिजा नेगेटिभ आएको थियो ।

बिरामी रेफर गर्नु नपरोस् भन्ने अस्पतालको नीति :

अस्पतालले सकेसम्म बिरामी रेफर गर्नु नपरोस् भन्ने नीति लिएको छ । अस्पतालको जनशक्ती, स्रोत साधन र उपकरणले भ्याएसम्म अस्पतालमा आएका विरामीहरुले निराश हुँदै फर्केर जानुपरेको छैन । अस्पतालका सबै वेडहरु अहिले पनि बिरामीहरुले भरीभराउ छन् । अस्पतालबाट सकेसम्म विरामीलाई अन्यत्र रिफर गर्नु नपरोस् भन्नेमा अस्पताल विकास समिति र सिंगो अस्पतालको टीम एकमत रहेको छ ।

आईसीयु र भेन्टिलेटरको आवश्यकता पर्ने अति सिकिस्त बिरामीबाहेक अन्य बिरामीहरुलाई अस्पतालले रिफर गर्ने गरेको छैन । प्राथमिक स्वास्थ्य केन्द्र र ग्रामिण स्तरका स्वास्थ्य चौकीहरुबाट काठमाडौं रिफर गरिएका विरामीहरुको समेत धादिङ अस्पतालमा उपचार एवं  शल्यक्रियापश्चात घर फर्किनुले सकेसम्म धादिङ अस्पतालमा आएका विरामीहरुले काठमाडौं वा अन्यत्र जानु नपरोस् भन्ने अस्पतालको नीति रहेको पुष्टि गर्दछ । 

एम.एन.एच. ईमेर्जेन्सी हेल्प लाईनमार्फत बिशेषज्ञ सेवा :

अस्पतालले महामारी र लकडाउनलाई केन्द्रित गर्दै एम.एन.एच. ईमेर्जेन्सी हेल्प लाईनमार्फत बिशेषज्ञ सेवा सुरु गरेको छ ।लकडाउनले सवारीसाधन नचलेको समयमा यस अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. त्रिभुवन चन्द्र झाले एम.एन.एच. ईमेर्जेन्सी हेल्प लाईनको माध्यमद्धारा विशेषज्ञ परामर्श सेवा प्रदान गर्नुभएको थियो ।

त्यसरी बिशेषज्ञ सेवा प्रदान गर्ने क्रममा धादिङ  सेर्तुङ स्वास्थ्य चौकीमा सुत्केरी हुन आएकी महिलालाई प्रसव पिडा जटिल बन्दै जादा सुविधासम्पन्न अस्पतालमा पु¥याउन तत्काल सम्भव नभएपछि ईमेर्जेन्सी हेल्प लाईनको माध्यमद्धारा विशेषज्ञ परामर्श सेवाको माध्यमबाटसफलतापुर्वक सुत्केरी गराउन स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीहरु सफल भएका थिए । 

गेटमै स्कृनिङ र कुरुवालाई पासको ब्यवस्था :

बिरामी, निजहरुका आफन्त र अन्य कुरुवाहरुमार्फत नै अस्पतालहरुमा कोभिड १९ संक्रमण फैलिई रहेको परिस्थितिलाई मध्य नजर गर्दै पछिल्लो समय अस्पतालको गेटबाटै स्कृनिङको सुरुवात गरेको छ भने एउटै विरामीका आधा दर्जन भन्दा बढी कुरुवा निरन्तर आउने क्रम नरोकिएपछि एकजना बिरामीका लागि बढीमा दुई जना कुरुवालाई मात्रै पासको ब्यवस्था गरिएको छ । 

भेन्टिलेटरसहितको आई.सी.यु. सुविधा थप्ने तयारीः

अस्पतालमा सामान्य बिरामी देखि गर्भवतीहरुको अपरेशन, हाडजोर्नीको अपरेशन निरन्तर भईरहेको छ भने कोभिड १९ महामारीलाई ध्यानमा राखी भेन्टिलेटरसहितको आई.सी.यु. सुविधा थप्ने तयारीभईरहेको छ । कोभिड १९ का बिरामीहरु सिकिस्त भएको अवस्थामा आई.सी.यु. सुविधा पाउने छन्र ।

हाललाई आई.सि.यु. कोभिडका बिरामी लक्षित भएपनि महामारी नियन्त्रणपश्चान अन्य बिरामीहरुलेसमेत आई.सि.यु. सुविधा पाउने छन् फलस्वरुप आई.सि.यु.नभएकै कारण बिरामीलाई काठमाडौं रिफर गर्नुपर्ने बाध्यताको अन्त्य हुनेछ । यो हामी स्वास्थ्यकर्मीहरुका लागिमात्रै नभई आम धादिङबासीहरुका लागि खुसीको खबर हो । 

निष्कर्षः

देशभर अहिले कोभिड १९ संक्रमणभन्दा पनि अस्पतालमा उपचार नपाएर अस्पताल चहार्दा चहार्दै बिरामीले ज्यान गुमाउनु परेको छ जुन अत्यन्त दुःखद हो ।धादिङ अस्पतालले अत्यावश्यक सेवा, ओ.पी.डी. सर्जरी सेवा संगसंगै कोभिड र ननकोभिड का विरामीहरुलाई समेत निरन्तर उपचार सेवा दिदै स्वास्थ्यकर्मी र अन्य बिरामीहरुलाई कोभिड संक्रमणबाट जोगाउन अपनाएको सजगता सकारात्मक रुपमा लिन सकिन्छ ।

त्यसैले बिरामी, अस्पतालमा आउने बिरामी कुरुवा लगायत सबैले अनिवार्य मास्क लगाऔं, नियमित हात धोऔ,सामाजिक दूरी कायम गरौं, उपलब्ध भएसम्म सेनिटाइजर प्रयोग गरौं,  स्वास्थ्यकर्मीहरुले पनि सजग होऔं, आफु सुरक्षित हुँदै उपचार गरौं जनतालाई आधारभुत स्वास्थ्य सेवाबाट वञ्चित नगरौं ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्