सम्मृद्ध सिद्धलेक बनाउने गरी काम भईरहेको छ : कमला (शर्मा)अधिकारी

धादिङको सिद्धलेक गाउँपालिकामा कोरोना रोकथाम तथा न्युनीकरण गर्नको लागि गाउँपालिकाले  विभिन्न कार्यक्रमहरु सन्चालन गरीरहेको छ । कोरोना भाईरसबाट बच्न सुरक्षाको उपायहरु अवलम्वन गर्न र स्वास्थ्य सम्बन्धी कुनै समस्या भए नजिकैको स्वास्थ्य संस्था जान वा सिद्धलेक गाउँपालिकामा सम्पर्क गर्न गाउँपालिकाबासीहरुलाई आग्रह गरेको छ।सिद्धलेक गाउँपालिकामा कोरोना रोकथाम तथा नियन्त्रणको लागि गरीएको प्रयास र समग्र विकास निर्माण तथा योजनाको विषयमा गाउँपालिकाका उपाध्यक्ष कमला शर्मा(अधिकारी)सँग गरिएको कुराकानीको सम्पादित अशं :

  • दिनहरु कसरी बितिरहेका छन् आज भोलि ?

सिद्धलेक गाउँपालिकामा अत्यावश्यक सेवा भन्दा बाहेक अरु ठप्प छ । आर्थिक वर्षको सुरुवात पनि भएर अघिल्लो वर्षका योजनाहरु सकिएका छन् । नयाँ योजनाहरुको सुरुवात भएको छैन । यद्यपि खाता सञ्चालन समेत यो वर्षको कुनै निकाय बाट निकासा नआइसकेको हुनाले खाता सञ्चालन पनि भएको छैन ।

आजकल कोरोनाको कारण पनि गाडि,बाटोहरु सबै बन्दाबन्दी छन् । सिद्धलेक पनि बन्द छ । त्यसकारण अहिले कामको चाप कम नै छ ।अब नीति नियम बनाउने कुराहरु,निणर्य गर्ने कुराहरु,फोन सम्पर्क गर्ने कुराहरु त छ, लगातार जस्तो कार्यालय गइन्छ । अरु त्यस्तो धेरै बाहिर जाने, सभा ,गोष्ठि, सम्मेलन बैठक,फिल्डमा काम त्यति छैन । त्यसकारण आजकल दिनहरु खुकुलो छ । 

  • अहिले कोरोना कारण विश्व आक्रन्त भईरहेको छ । कोरोना रोकथाम तथा  न्युनीकरणको लागि पालिकाले के गरीरहेको छ ? 

गत आर्थिक वर्ष चैत्र ११ गते देखि कोरोना भाइरसको महामारी नेपालमा पनि सुरु भएपछि देश लकडाउनमा गयो ।लकडाउनमा गइसकेपछि हामी कोरोना विरुद्घ लड्नु पर्ने आधारभुत आवश्यकताहरु परिपुर्ति गरेर हाम्रो क्षेत्रमा, स्थानिय तहमा, भू–भागमा अप्ठ्यारो आयो कोरोनाको संक्रमण बढ्यो भने कसरी हामी यो कोरोना महामारीसगँ लड्ने भन्ने पुर्व तयारीमा जुट्यौँ । 

त्यसअनुसार हामीले कोषको पाचँ दिनको कर्मचारीहरुको  जनप्रतिनिधिहरुले व्यक्ति नै तोकेर वडा सदस्यबाट पाचँ हजार,कार्यपालिकाको सदस्यलाई दस हजार, वडाधक्ष्यहरु बाट पन्ध्र हजार,उपाध्यक्षले बीस हजार र अध्यक्षले पच्चीस हजार गरेर कोषमा जम्मा गर्‍यौँ । त्यसमा ४२ लाखको दैविक प्रकोप व्यवस्थापन कोष खडा गर्‍यौँ । विभिन्न संघ संस्थाहरुले हामीलाई सहयोग गर्नुभयो। जस्तै फोकस नेपाल,शान्ति नेपालले कोभिडलाई टार्गेट गरेर राहतको कार्यक्रम पनि हामीले सञ्चालन गर्यौ । कोभिडको महामारीबाट सुरुको अवस्थामा लकडाउनले बास्तवमा एउटा आतंक जस्तै थियो ।

दैनिक मजदुरी गरेर खाने, दैनिक ज्याला गरेर खानेहरुको घरमा चुलो नबल्ने अवस्थामा हामीले के गर्न सक्छौ भन्ने हिसाबले राहतका कार्यक्रमहरु पनि सञ्चालन गर्यौ । बिस्तारै सिद्घलेक गाउँपालिकामा कोरोना संक्रमण देखिन थाल्यो । केहीदिन अघि मिडियामा  आएको थियो सिद्घलेक वडा नं ६ का एक व्यत्तिको कोरोनाका कारण मृत्यु भयो भन्ने जुन खबर आयो । उहाँ मृगौलाको रोगि हुनुहुन्थ्यो । उहाँ ३२,३३ दिन देखि पाटन अस्पतालमा उपाचररत हुनुहुन्थ्यो ।

उहाँको मृत्यु भइसकेपछि कोरोना परिक्षणको लागि स्वाव लिएको रहेछ । त्यसपछि उहाँको मृत्यु भयो । मृत्यु भएपछि पोजिटिभ देखियो भनेर खबरहरु बाहिर आए । बास्तवमा उहाँ लामो समय देखि मृगौलाको बिरामी हुनुहुन्थ्यो । उहाँको दुबै मृगौला फेल थियो । सिद्धलेकमा कोरोनाको अवस्था यस्तो हो । त्यसको तयारीको लागि  हामीले गाउँपालिकाले सुरुमा तिन वटा विद्यालयमा क्वारेन्टाइन व्यावस्थापन गर्यौ।भारतबाट फर्कने हाम्रा सिद्धलेकबासी दाजुभाइहरुलाइ आरडिटी चेक गराएपछि धेरै जनाको नेगेटिभ आयो ।

उहाँहरु घर जानु भयो । जो पोजिटिभ आयो उहाँहरुलाइ दोस्रो पटक पीसिआर गराएर कारोना मुक्त भएपछि घर जानु भएको अवस्था हो । कोरोनाले मानिसलाई त्रास फैलाएको छ । बाहिर निस्कन नसक्ने, भेटघाट गर्न नसकिने जुन एउटा त्रास छ । हामी सम्पूर्ण टिम अहिले विकास निमार्णका काम पनि सुरु नभएको भएर हाम्रो कार्यपालिकाको टिम कोरोनाको विरुद्ध कसरी हामी सुरक्षित रहन सक्छौ भन्ने पूर्ण ध्यान त्यतातिर छ ।

  • कोरोना हिजो भन्दा आज झन बढ्दै छ,अहिलेको अवस्थामा सिद्धलेक गाउँपालिका कोरोना सगँ जुध्नको लागि र आफनो नागरिक बचाउनको लागि तयारी अवस्थामा छ ?

हामी तयार छौँ,सिद्धलेकमा १२ वटा स्वास्थ्य संस्था छन् । त्यहाँका कर्मचारीहरुलाइ बिदा बस्न दिएका छैनौँ । जुनकुनै बेला अर्लट हुनुहोस् भनेका छौँ । त्यो हाम्रो ब्याक सपोर्ट मात्र हो । कोरोना भइसकेपछि हाम्रा स्वास्थ्य केन्द्र, हाम्रा स्वास्थ्य प्राविधिकहरुले निवारण गर्न सक्नु हुन्छ भन्ने हिसाबले होइन हाम्रो अलिकति आधार स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरु छन् भनेपछि हाम्रो मनोबल पनि बढ्ने अनि कारोनासगँ लड्नको लागि आपत परिहाल्यो भने हामीसगँ कोषमा स्टक पैसा छ ।

 हामीसगँ ८० थान आइशोलेसन बेडहरु छन् । यदि संक्रमण भयावह अवस्था आयो भने हामीले उहाँहरुलाइ कहाँ कसरी सुरक्षित राख्न सकिन्छ भन्ने हिसाबले पूर्व तयारी छ । अब हामीले थेग्न नसक्ने भयो भने हाम्रो नजिकै हामीसगँ जोडिएको जिल्ला अस्पताल पनि भएको भएर त्यहा पनि हाम्रो कोर्डीनेशन छ । त्यस्तो अवस्थामा त्यहाँको प्राविधिकहरुलाइ पनि ल्याउन सक्ने अवस्था छ । अब समुदायमै कोरोना फैलिएको अवस्थामा पनि आधारभुत कुराहरुको तयारी गरेर पूर्व तयारीमा छौँ । यो मानव समुदायमा जुन खालको त्रास फैलिएको छ । त्यसैअनुरुप कारोना संक्रमण बढ्यो भने  गाउँपालिकाले पूर्व तयारी गरेको छ ।

हाम्रो सम्पूर्ण टिमको ध्यान त्यसकै विरुद्धमा लाग्नेछ । हामी त्यो अवस्था हुन दिने छैनौ । पूर्व तयारी गर्न सक्ने अवस्था रहन्छ । त्यो नलाग्नको लागि अपनाउने होसियारहरु हामी अपनाउन लगाउछौ । अहिले त विश्वमा निको भएर घर फर्कनेको संख्या पनि धेरै छ । हामी आफुले जित्न सक्छौ भन्ने कुरा नागरिकलाइ सजग गराउछौ । यो सबै श्रोत र साधन प्रयोग गरेर भए पनि त्यस्तो अवस्था आउन दिने छैनौ,हाम्रो पूर्व तयारी छ । 

  • काम नहुदा ज्यालादारी मजदुरी गर्नेहरुलाई समस्या होला ।सिद्धलेक गाउँपालिका भित्रका नागरिकहरुको चुल्हो निभेको अवस्था छ की छैन?

 त्यस्तो अवस्था छैन । हामीले एक चरणमा खाद्यान्न वितरण गर्यौ । त्यो १२,१८ दिनलाई भयो होला । त्यो प्रयाप्त हो भन्ने अवस्था छैन,त्यो त कति दिन हुन्छ र ? पाँच सात जना  भएको परिवारलाई हामीले दिएको राहत भनेको त्यही आठ,दस दिनको लागि खानेकुरा हो । सिद्धलेक गाउँपालिकामा धेरै मजदुरहरु दैनिक ज्याला गरेर खाने भन्दा किसानहरु धेरै छन् । सिद्धलेकको सबै भन्दा ठूलो बजार भनेको कालिदह, बुङचुङ नै हो । त्यहाँ धेरै बाहिरी मजदूर नभएको र भित्र आफुले गर्ने काममा कुनै पनि रोकावट छैन । 

जस्तो हाम्रो खेतिपातिको समयमा खेतिपाति लगाएका छन् । कामकाजहरु चलिरहेका छन् । सुरक्षित भएर काम गरिरहेका छन् । दैनिक ज्यालादार गर्ने मजदुरहरु धेरै नहुनुभएको भएर कोहि पनि खानाकै लागि चुलो बस्यो भन्ने अवस्था छैन । त्यो समस्या अलि बजार,कलकारखाना,उद्योग धन्दाहरु चलेका ठाउँमा त्यस्तो समस्या हुन्छ ।

सिद्धलेक गाउँपालिकामा त्यति ठूलो बजार,कलकारखाना,उद्योग धन्दा छैन । हाम्रो ९८ प्रतिशत सबै कृषिमा आधारीत भएको भएर कृषि काम रोकिएको छैन । खानको लागि समस्या छैन,जग्गा जमिन खेतिपाति गर्न रोकिएको छैन । आम कुराहरु अहिले तत्काल रुपमा देखिएकाले मल आपुर्ति गर्न नसक्नु केहि बाधाहरु त छन् । काम नपाएर हात बाधेर बसेर खान नपाएको  अवस्था सिद्धलेकमा छैन । 

  • गाउँपालिकामा ८० बेड आइशोलेसन छ भन्नुभयो केही आपत पर्यो भने पालिकाले आइशोलेसनको लागि व्यवस्थापन गर्न सक्छ ?

संक्रमित देखियो भने उहाँको नेगेटिभ रिर्पोट नआए सम्म गाउँपालिकाले सम्पूर्ण खर्च गरेर राखेको अवस्था हो । हामी सगँ सर्जिकल बेडहरु नै छ । हामीले क्वारेन्टाइनको व्यवस्थापन त बिद्यालयमा गर्यौ । बिद्यालय पनि अब बिस्तारै खुल्नुपर्छ भनेपछि त्यसलाइ कहाँ कसरी व्यवस्थापन गर्ने भन्ने कुरामा लागेको थियो । यदि त्यस्तो अवस्था आयो भने खाने,बस्ने व्यवस्था गाउँपालिकाले गरेर सुरक्षाका लागि गाउँपालिका लाग्छ । 

  • यो महामारीको बेलामा सबै घर भित्र छन् । यो बेलामा महिला हिंसाका घटनाहरु बढ्यो भन्ने पनि तथ्याङक छ,सिद्धलेकमा यो अवस्थामा के छ  ?

म कहाँ रिपोर्ट आउँदा मलाइ थाहा हुने हो । आजसम्म सिद्धलेक गाउँपालिकामा कुनै महिला दिदी बहिनीहरुले हामी घरमै बसेको कारण, हामी बाहिर हिड्ँडुल गर्न नपाएको कारण हामी माथी हिंसा भयो, हामीलाइ अन्याय भयो भनेर उजुरी छैन । यो लकडाउनकै कारणले महिला हिंसा बढ्यो भन्ने,राष्ट्रिय स्तरको तथ्याङक हेर्ने हो भने छ । मिडियाहरुमा आइरहेको छन् तर सिद्धलेकमा त्यस्तो अवस्था छैन । सुरुसुरुमा रक्सी खाएर घरमा श्रिमानले गालि गर्यो,जथाभावी बोल्यो भनेर एकदुई ठाउबाट फोन आएको थियो । तर त्यस्ता जटिल केसहरु छैन । 

  • चैत्रदेखि देश लकडाउनमा छ,सिद्धलेक गाउँपालिकाको विकासलाई कोरोना भाईरसले कत्तिको असर पु¥यायो ? कोरोना नभएको भए हामी के कामको सुरुवात गथ्र्याै ?

सिद्धलेक गाउँपालिका विकास निमार्णको काममा जुन रफ्तारमा अगाडि लम्किएको थियो यो कारोना पछि धेरैनै पछाडि परेको महशुस गरेको छु । हाम्रो लगभग ४ करोड जति रकम केन्द्रिय र प्रदेशको गरेर त्यति बजेट फ्रिज भएको अवस्था थियो तर अहिले ४ करोड फिर्ता भयो । कोरोना भाईरसको महामारी थिएन भने हाम्रो १८,२० किलो मिटर ग्रामिण सडक फ्रिज हुने अवस्थामा थियो त्यही पैसानै अहिले हाम्रो फ्रिज भएको हो । 

नाला बनाउने काम लगभग सकिएको थियो । यो आर्थिक वर्षका विकास निमार्णका कामहरु अब सुचारु हुनुपर्ने हो । हामीले पोहोर यति बेलासम्म उपभोक्ता समितिहरुलाइ ओरिन्टेसन गर्ने, उपभोक्ता समितिले गर्नुपर्ने काम कर्तव्य र अधिकारहरुको बारेमा हामीले ओरिन्टेसन गरेर तपाइहरुले योजना सम्झौता भएदेखि फछ्र्यौट नगरे सम्म के–के गर्ने भनेर दुइटा समुह बनाएर उपभोक्ता समितिलाइ ओरिन्टेसन गरिसकेका थियौँ । हाम्रो योजना एउटा पनि सम्झौता हुन सकेको छैन, काम गर्ने वातावरण छैन,धेरै घाटा भएको छ । सिद्धलेकमा विकास निमार्णको काम केही पनि नभएको जस्तो,काम अगाडि बढाउन नपाएको जस्तो महशुस हुन थालेको छ । 

  • कोरोनाको कारण विकास निर्माणको कार्यक्रममा कति अपरोध पुगेको होला ? 

सिद्धलेक गाउँपालिकालाइ श्रावण महिनाको ४ र ५ गते परेको वर्षाको कारण विशेष गरेर कुम्पुर गाविस अहिलेको वडा नं ७ को दुइ तीन वटा बस्ती ठूलो बाढि पहिरोको चपेटामा पर्यो । १ र २ बाहेक ३ ,४, ५ र ६ मा बाटोहरु भत्किए,सिंचाइ कुलोहरु, इन्टेकहरु पाइपलाइनहरु डिस्टर्ब भएको छ ।

अब विस्तारै त्यो काम अगाडि बढेको छ । बस्ती बस्तीमा पानि पठाउने कुराहरु, खेतको सिंचाइ कुलोहरु नापजाचँ गर्ने काम भएको छ । कोरोनाको कारणले हामी थोरै पछाडि परेका थियौँ भने फेरि त्यो बाढी पहिरोले पनि केहि समय बिचल्लित बनायो । विस्तारै त्यो सबै सामान्य भएको छ । भदौ महिनाको अन्तिम तिर बाट फेरि काम सुरु हुन्छ । 

  • पहिरोको कारणले धेरै घरहरुमा क्षति पुग्यो,जोखिममा छन् भन्ने कुरा पनि आएको छ । के–के क्षति पुर्‍याएको छ बताइदिनुस् न ?

दुइ तिन घरहरु सार्नुपर्ने अवस्था छ,बारी पहिरीएका छन् भने खेत सबै पुरिएका छन् । एकहप्ता जति खानिगाउँ ,हटिया लगायतका गाउँहरुमा बिजुलीको समस्या भएको थियो । अहिले बिजुलीको पोलहरु उठाउने,तार तान्ने र बत्ति बाल्ने काम भएको छ । गाउँमा खानेपानिहरु आएका छन् । विशेष गरेर घरको वरिपरी पहिरो गएको छ । मानवीय क्षति भएको छैन,सडकहरु अस्तव्यस्त बनाएको छ । 

  • गाउँपालिकाले तत्काल राहत पनि दिएको भन्ने सुनेका थियौँ, के कति कसरी दिएको हो?

सात नम्बर वडामा जिल्ला प्रशासन कार्यलयको विपद व्यवस्थापन राहत कोषबाट प्रति व्यक्ति पन्ध्र हजारका दरले नगद र धादिङ शाखाको रेडक्रसबाट जोखिम युक्त घरहरुलाई तत्काल आपतकालिन अवस्थामा बस्नको लागि टेन्ट, त्रिपाल, भाडाँकुडा, लत्ताकपडा धादिङ रेडक्रसबाट वडा नं ७ र ३ मा पठाएको हो । त्यो  रकम गाउँपालिकाको भन्दा पनि जिल्ला प्रशासनबाट सहायक सिडियो आफै आउनु भएर पन्ध्र हजार राहत वितरण गरिएको हो । 

  • सिद्धलेक गाउँपालिकालाई राम्रो विकास निमार्ण गर्ने पालिकाको रुपमा    चिनिन्छ । तपाई गाउँपालिकाको उपाध्यक्ष हुनुहुन्छ,अहिले सम्मको विकासको गति कस्तो पाउनु भएको छ ?  

हामीबाट कुनै कमजोरी हामीले गर्न नसकेको अथवा हामीले गर्दा बिग्रेको भन्ने कुरा मैले अहिले सम्म भेटेको छैन । तर विभिन्न प्राकृतिक प्रकोपहरु,कोभिड पनि प्राकृतिक प्रकोप नै हो,त्यसपछि बाढि पहिरोहरु बर्षा मासमा भईरहन्छ । अनि लकडाउनको कारणले काम अगाडि बढ्न नसकेको अवस्था हो । त्यो भन्दा बाहेक सिद्धलेक गाउँपालिकामा विकास निमार्ण गर्ने काममा जुन रफतार थियो अब त्यो घट्दैन । बाहिर मिडियामा आएको कुराहरुलाइ कानुन तहमा सत्य तथ्य ढङगले चिरफार गर्ने तयारीमा छौँ ।

  • अन्त्यमा सिद्धलेक गाउँपालिकाबासीलाई के भन्न चाहनुहुन्छ ?

सम्पूर्ण सिद्धलेकबासी र मेरो कार्यक्रम सुन्नु हुनेहरुलाइ धन्यवाद । अहिलेको अप्ठ्यारो परिस्थितिमा हामी आफु बाच्न र अरुलाई बचाउन लागि पर्नुपर्छ ।  यो विपत्ति सगँ जुध्नको लागि सबै जना आफु सुरक्षित रहौँ र सबैलाई सुरक्षित बनाऔँ भन्न चाहन्छु ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्