उपत्यकाका अस्पताललाई आकस्मिक बाहेकका शल्यक्रिया नगर्न सरकारको निर्देशन

स्वास्थ्य मन्त्रालयले काठमाण्डौ उपत्यकाका सबै अस्पतालहरुलाई आकस्मिक बाहेकका शल्यक्रिया नगर्न पनि निर्देशन दिएको छ । लक्षण भएका कोरोना सङ्क्रमितको सङ्ख्या बढेकोले कोरोनाका बिरामीलाई आईसीयू र भेन्टिलेटर बेड पाउने अपेक्षा गरेर आकस्मिक बाहेकका शल्यक्रिया नगर्न निर्देशन दिएको प्रवक्ता गौतमले बताउनुभयो ।

यस्तै सरकारले काठमाण्डौ उपत्यकाका सबै सरकारी अस्पताललाई कोरोना अस्पताल बनाउने भएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गत इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले उपत्यकामा कोरोना सङ्क्रमितको उपचारका लागि सबै सरकारी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

यसैगरी मन्त्रालयले स्वास्थ्य सेवा विभागसँग भएका भेन्टिलेटर, आईसीयू तथा अक्सिजन कोरोना सङ्क्रमितको उपचारका लागि प्रयोग गर्ने पनि निर्णय गरेको छ । यस्तै काठमाण्डौको मनमोहन शिक्षण अस्पताल दहचोक र राष्टिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा रहेका आइसोलेशन सेन्टरलाई लक्षणसहितका कोरोना सङ्क्रमित राख्नको लागि कोभिड अस्पतालमा स्तरोन्नति गर्ने भएको छ ।

बैठकले अस्पतालले होटलहरुसँग सहकार्य गरेर होटल आइसोलेशन सेन्टर सञ्चालन गर्न अनुमति दिने पनि निर्णय गरेको छ । यस्ता होटलमा सङ्क्रमित बाहेक अरुलाई राख्न पाइने छैन । यस्तै मन्त्रालयले सार्वजनिक ठाउँ तथा सार्वजनिक यातयाताबाट सङ्क्रमण फैलन नदिन निसङ्क्रमण गर्ने तथा स्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेको छ । यस्तै दशैँलगायतका चाडपर्व मनाउँदा कोरोना सङ्क्रमण फैलन सक्ने भएकोले जो–जहाँ जस्तो अवस्थामा छ, त्यस्तै अवस्थामा चाडपर्व मनाउन र चाडपर्वका नाममा यात्रा नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्