कोरोना संक्रमण बढेपछी रुबिभ्यालीका विद्यालयहरु बन्द

कोभिड–१९ को संक्रमण बढेसंगै रुबिभ्याली गाउँपालिकाको विद्यालयहरु तत्काल नखुल्ने भएको छ । गाउँपालिको शिक्षा शाखाले एक सूचना प्रकाशित गर्दै बढ्दो कोरोना संक्रमणका कारण भौतिक रुपमा विद्यार्थीहरु विद्यालय उपस्थित भइ सिकाइ सहजीकरण गर्दा संक्रमण बढ्न सक्ने भन्दै प्रत्यक्ष सिकाइ सहजीकरण क्रियाकलाप बन्द गर्न अनुरोध गरेको हो ।

यसअघि रुबिभ्याली गाउँपालिकामा विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ ले निर्दिष्ट गरेको मापदण्ड र परिधि भित्र रही गत असोज ९ गतेदेखि विद्यालयमा नै भौतिक रुपमा उपस्थित गराइ शिक्षण सिकाइ क्रियाकलाप भइरहेको थियो । तर हाल बढिरहेको कोरोना संक्रमणको दरलाई ख्याल राख्दै कार्तिक १६ देखि २८ गते सम्मको लागि विद्यालयमा नै भइरहेको प्रत्यक्ष सिकाइ सहजीकरण क्रियाकलाप बन्द गर्ने निर्णय भएको रुबिभ्याली गाउँपालिकाका शिक्षा अधिकृत सन्तोष खनालले जानकारी दिनुभयो ।

अधिकृत खनालका अनुसार उक्त समयमा प्रभावकारी, व्यवस्थित र स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी निर्देशिका बमोजिम अन्य वैकल्पिक विधिबाट विद्यार्थी सिकाइ सहजीकरण क्रियाकलाप गराउनका लागि विद्यालयहरुलाई अनुरोध गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्