कोरोना जोखिम नभएका क्षेत्रमा विद्यालय खोल्न दिने तयारी

सरकारले कोरोनाको जोखिम कम भएका क्षेत्रहरूमा विद्यालय सञ्चालन गर्ने तयारी गरेको छ । लामो समयदेखि विद्यालय बन्द रहँदा विद्यार्थीहरूले पठनपाठनबाट वञ्चित हुनुपरेकाले सरकार विद्यालय सञ्चालनको तयारीमा जुटेको हो । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्मा भन्नुहुन्छ,‘लामो समयदेखि विद्यालय बन्द अवस्थामै छन्। यातायात, होटललगायत खुल्दै आएका छन्। त्यसैले अब कोरोनाको कम जोखिम भएका ठाउँको विद्यालय सञ्चालन गर्न दिने तयारी सरकारले थालेको छ।’

उहाँका अनुसार विद्यालय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णरूपमा लागू गर्नुपर्ने छ। ‘भिडभाड गर्न पाइने छैन,’उनले भने,‘मास्क,सेनिटाइजर सबैको प्रयोग गर्नुपर्ने छ। सामाजिक दूरी अनिवार्य कायम गर्नुपर्ने छ।’ स्कुल सञ्चालन गर्दा विद्यार्थीको स्वास्थ्य सजकता अपनाउने मुख्य जिम्मा विद्यालयको रहने उहाँले बताउनुभयो ।

कोभिड–१९ का कारण चैतयता विद्यालय र विश्वविद्यालयहरू सञ्चालनमा आउन सकेको छैनन् । सञ्चालनमा आएका विद्यालय पनि बन्द भएका छन्। जसले गर्दा विद्यार्थीले भौतिक उपस्थितमा पढ्न पाएका छैनन् । सरकारले वैकल्पिक प्रणालीबाट शिक्षणसिकाइ अगाडि बढाए पनि प्रभावकारी हुन सकेको छैन।

एक सातामा कार्यढाँचा जारी गरिने

मन्त्रालयका प्रवक्ता शर्माले स्थानीय तहले विद्यालय सञ्चालन गर्न पाउनेगरी एक सातामा विद्यालय सञ्चालनका लागि कार्यढाँचा जारी गर्ने जानकारी दिनुभयो ।उहाँले भन्नुभयोे,‘मन्त्रालयले विज्ञको सल्लाह सुझावसहित विद्यालय सञ्चालनको लागि कार्यढाँचा बनाउँदै आएको छ। अबको एक सातामै जारी गर्दै छौँ।’

उहाँका अनुसार कार्यढाँचा जारी भएपछि विद्यालय सञ्चालन गर्ने जिम्मा स्थानीय तहले पाउनेछन्। ती तहहरूले जहाँ कोरोना जोखिम छैन। त्यहाँ विद्यालय सञ्चालन गर्न पाउनेछन् ।निजी विद्यालयका संगठनले पनि शैक्षिक सत्र खेर जान नदिनको लागि विद्यालय सञ्चालन गर्नुपर्ने माग गर्दै आएका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन९प्याब्सन०का केन्द्रीय अध्यक्ष टिकाराम पुरी भन्नुहुन्छ,‘लामो समयदेखि विद्यालय बन्द छन। अब यसरी बन्द गर्नुभएन। स्वास्थ्य मापदण्ड अपनाएर कम जोखिम भएका ठाउँका विद्यालय सञ्चालन गर्न पाउनुपर्छ।’

सरकारले तत्कालै कार्यढाँचा जारी गरे तिहारपछि विद्यालय सञ्चालन गर्ने बताए। ‘सरकारले विद्यालय सञ्चालन गर्ने निर्णय गरे हामी तिहारपछि विद्यालय खोल्न तयार छौँ। अब हामीसँग धेरै समय पनि छैन। सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्नेछौँ’ उहाँले थप्नुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्