बागमती प्रदेश लोक सेवा आयोगले माग्यो ठुलो संख्यामा कर्मचारी

बागमती प्रदेशमा प्रदेश लोकसेवा आयोग गठन भएपछि पहिलो पटक प्रदेश सरकार र स्थानीय तहमा रिक्त दरबन्दीमा पदपूर्तिका लागि ठुलो संख्यामा कर्मचारी माग गरेको छ । प्रदेश लोकसेवा आयोग बागमती प्रदेश गठन भएको एक वर्षपछि प्रदेश सरकार र स्थानीय तहको माग आकृति फारामका आधार चौथो तहमा रिक्त दरबन्दीमा कर्मचारी भर्नाका लागि आयोगले सोमबार विज्ञापन प्रकाशित गरेको हो ।

प्रदेश लोक सेवा आयोग बागमती प्रदेश, हेटौँडाले ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनबाट हुने बढुवा, आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षा र खुला तथा समावेशीतात्मक लिखित परीक्षाबाट ४६९ जना कर्मचारी भर्नाका लागि विज्ञापन गरेको हो । जस अनुसार ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनबाट हुने बढुवा ३६ जना र आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षा ३६ जना गरी प्रशासनिक तथा प्राविधिकतर्फ चौथो तहमा ८१ जना पदपूर्ति गरिने आयोगले जनाएको छ ।

त्यसैगरी पूरा खुलातर्फ २४९ जनासहित खुलातर्फ ३८८ जना कमचारीको लागि विज्ञापन गरिएको छ । समावेशिताका आधारमा महिला ६९ जना, आदिवासी जनजाति ४० जना, मधेशी २१ जना, दलित ७ जना र अपाङ्गता भएका २ जना चौथो तहको रिक्त पदमा पदपूर्तिका लागि विज्ञापन गरिएको छ ।

प्रदेशका स्थानीय तहहरु र बागमती प्रदेशका दुई मन्त्रालयमा कर्मचारी भर्नाका लागि सूचना गरिएको हो प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार सामान्य प्रशासन, लेखा, कृषि, स्वास्थ्य, इन्जिनियरिङ सेवा र विविध सेवाका लागि कर्मचारी माग गरिएको छ । यस्तै, सामान्य प्रशासनतर्फ ९० जना र लेखातर्फ पाँच जना कर्मचारीका विज्ञापन गरिएको आयोगले जनाएको छ ।

बागमती प्रदेश भरका ४४ वटा स्थानीय तहमा ४४७ जना तथा बागमती प्रदेशको प्रदेशको सामाजिक विकास मन्त्रालयले २१ जना र भौतिक पूर्वाधार विकास मन्त्रालयलय एक जना कर्मचारी माग गरी फाराम आयोगमा पठाएको आधारमा विज्ञापन गरिएको प्रदेश लोकसेवा आयोगले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्