पशुधन तथा कृषि सुरक्षाका लागि वीमा गरौं ।(सम्पादकीय)

धादिङ,२३ जेठ ।
सरकारले पशुधन तथा कृषिजन्य वस्तुको लागि वीमा कार्यक्रम संचालन गर्न भन्दै करोडौ रुपैयाँ रकम विनियोजन गरेको छ तर, सरकारले सोचेजस्तो कृषिजन्य वस्तुहरुको वीमा कार्यक्रम अगाडि बढ्न सकेको छैन ।

सरकारले कृषि तथा पशुपंक्षीजन्य वस्तुहहरुकै वीमामा कुल प्रिमियमको ८० प्रतिशत रकम अनुदान सहयोग गर्ने घोषणा सहितका कार्यक्रम संचालन गरिरहेको छ तर, सरकारले सोचेजसरी वीमाका कार्यक्रम प्रभावकारी हुन नसक्दा अपेक्षा अनुसारको खर्च समेत भएको छैन । जानकारहरुका अनुसार सरकारले छुट्ट्याएको बजेट विगत धेरै आर्थिक वर्षदेखी नै धेरै जसो खर्च हुन नसकेर फ्रिज हुने गरेको छ ।

हुनत अहिले वीमा कार्यक्रम संचालनका सम्वन्धमा पशुधनको सुरक्षाका लागि केही खर्च भएको देखिन्छ, कृषितर्फ वीमा गरेका कृषकहरुको संख्या देशैैभरी खोज्ने हो भने पनि हातको औलामा अट्ने खालको संख्यामा रहेको अनुमान गरिएको छ ।

कृषि विमाका लागि सरकारको कार्यविधिमा समस्या देखिएका कारण पनि सोच अनुसारको प्रभावकारी कामहरु हुन सकेको छैन। कृषकहरुको वार्षिक करोडौं रुपैयाँ बराबरको कृषिधन विविध कारणले नष्ट भैरहेका समाचारहरु सुन्ने र देख्ने समेत गरेको पाइन्छ । यदि कृषकहरुले कृषि वीमाको बारेमा ज्ञान पाएको भए त्यति ठूलो नोक्सानी व्यहोर्नुपर्ने थिएन ।

हुनतः सरकारले वीमा अभियान भएको बारेमा रेडियो, टेलिभिजन तथा अन्य संचारमाध्यामहरुबाट पनि जानकारी दिएको छ र सरकारी संरचनामा आवद्धता भएका व्यक्तिहरुबाट पनि त्यस प्रकारका जानकारीहरु आ–आफ्नो स्थानबाट आफ्नो ठाउँ, पद र दायित्वले भ्याएसम्म दिने कामहरु भएका बताइएपनि त्यस प्रचार अनुसारको उपलब्धीहरु भने कृषकहरुले प्राप्त गर्न सकिरहेका छैनन् ।

हुनतः पछिल्लो समय पशुधनको सुरक्षाका लागि भन्दै गाईभैंसी, भेडाबाख्रा लगायतका पशुहरुको वीमा गर्ने कृषकहरुको संख्या दिनानुदिन बढिरहेको छ, तर अहिले भैरहेको संख्या पनि सन्तोषजनक स्थिति भने होइन । पछिल्लो सरकारले कृषकहरुको सुरक्षालाई ध्यानमा राखी कुल प्रिमियमको ८० प्रतिशत रकम सरकारले व्यहोरिदिने निर्णय गरेको छ ।

यो सामान्य कृषकहरुको लागि खुसीको विषय समेत हो । पशुधनको सुरक्षाका लागि सरकारले वीमा कार्यविधिमा जे जस्तो व्यवस्था गरेको छ त्यो अलिकति क्लियर पनि छ भने कृषितर्फको बाली बस्तुको वीमाका लागि जति क्लियर पोलिसि हुनुपर्ने थियो त्यो हुन सकेको छैन जसका कारण कृषि भन्दा पशुधनको सुरक्षामा किसान अलिकति अगाडि रहेको पाउन सकिन्छ । किसान उत्प्रेरित हुनुपर्ने मुख्य विषय वीमा गरे वापत प्राप्त गर्नेपर्ने दावी भुक्तानी रकम पनि हो ।

वीमा गरेको निश्चित समयभित्र कुनै कारणबश क्षति भएमा सो को विवरण अनुसारको दावी भुक्तानी कसरी र कति पाए ? कृषकको लाभको स्थिति के छ ? भन्नेमा पनि भर पर्ने हुन्छ । कृषकहरुले जुन जुन विषयमा क्षति हुँदा दावी भुक्तानी सजिलोगरी पाउने गर्दछन् त्यसतर्फ स्वभाविक रुपमा उनीहरुको आकर्षण बढ्छ ।

अहिलेको अवस्थामा कृषि तर्फभन्दा पशुतर्फ बढी प्रगति भएको पाउन सकिन्छ । यसको आशय के हो भने कृषि वीमाबाट पैसा पाउनेको संख्या निकै कम छ यसबारे नागरिक अनविज्ञ छन् यसबारे जनचेतना जगाउने र वीमा कम्पनीलाई प्रतिवद्ध बनाई कार्यक्रम संचालन गर्न सक्नुपर्छ यसमा सरकार र सरोकारवाला निकायहरुको ध्यान जाओस् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्