खोप अभियान:पहिलो चरणमा धादिङका तेह्रसय २४ ले लगाए कोभिड भ्याक्सिन

कोरोना खोप अभियान अन्तर्गत धादिङमा शनिबारसम्म एक हजार ३ सय २४ जनाले खोप लगाएका छन् । माघ १४ गतेदेखी सुरु भएको खोप अभियान अन्तर्गत २४ गते शनिबारसम्म एक हजार ३ सय २४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । जसमा ७ सय २ जना महिला र ६ सय २२ जना पुरुष रहेका छन् । 

अभियान अन्तर्गतको लक्षित वर्ग अनुसार शुक्रबारसम्मको तथ्याङ्क अनुसार जिल्लाका ४ सय ३७ जना स्वास्थ्यकर्मी, ११९ जना स्वास्थ्य संस्थाका अन्य कर्मचारी, २७५ जना महिला स्वास्थ्य स्वयमसेवीकाले खोप लगाएका छन् । यस्तै १० जना एम्बुलेन्स तथा शव बहान चालक, ६७ जना शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी र ३ सय जना कैदीबन्दीले खोप लगाएका छन् । 

अहिलेसम्म खोप लगाएका व्यक्तिहरूमा सामान्य रिगँटा र ज्वरो आउने र थकान महसुस हुने बाहेक अन्य केही ठूलो स्वास्थ्य समस्या नदेखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । प्रदेश सरकार मार्फत जिल्लामा कोभिड–१९ संक्रमण बिरुद्धको कोभिशिल्ड (covishield) नामक भ्याक्सिन १ हजार ३ सय ४० डोज प्राप्त भएको थियो । 

पहिलो चरणमा अग्रपङतीमा कार्यरत स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत अन्य कर्मचारी, शब ब्यबस्थापानमा खटिने सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयमसेबिका,एम्बुलेन्स/शव–बाहन चालक, सरसफाई कर्मीहरुलाई खोप लगाईएको स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा. भुवन पौडेलले जानकारी दिनुभयो ।

पहिलो चरणमा जिल्लामा धादिङबेशीमा एक खोप केन्द्र तोकिएको थियो । पहिलो चरणमा खोप लगाएकाहरुलाई नै दिइएको खोप कार्डका आधारमा २८ दिन पछि फेरि खोप लगाईने वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्