धादिङमा प्रजातान्त्रिक विचार समाजले प्रजिअलाई बुझायो विरोधपत्र

धादिङ,०२ फागुन ।
प्रतिनिधिसभा विघटनको विरुद्धमा प्रजातान्त्रिक विचार समाजले प्रमुख जिल्ला अधिकारीलाई विरोध पत्र बुझाएको छ । अलोकतान्त्रिक, असंवैधानिक र सर्वसत्तावादी कदम सच्चाउँदै देशलाई संविधानवादको लोकतान्त्रिक दिशामा फर्काउन भन्दै प्रजातान्त्रिक विचार समाजले प्र.जि.अ पुण्यविक्रम पौडेललाई आईतबार विरोध पत्र बुझाएको हो । विरोधपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पौडेलले प्रजातान्त्रिक विचार समाजको विरोधपत्र लाई सम्बन्धीत ठाउँसम्म पुर्याइने बताउनुभएको छ ।

प्रजातान्त्रिक विचार समाजका धादिङ शाखाका अध्यक्ष बद्री तिवारी, बाग्मती प्रदेश अध्यक्ष भरत प्रसाद दवाडी र केन्द्रिय अध्यक्ष डा.केदारनरसिंह केसीद्वारा हस्ताक्षरित विरोधपत्रमा लोकतान्त्रिक आन्दोलनबाट स्थापित नेपालको संविधानको संवैधानिक व्यवस्था र भावनाविपरित प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रतिनिधि सभाको विघटन गरेको घटनाप्रति प्रजातान्त्रिक विचार समाजको गम्भीर ध्यानाकर्षण भएको  भनिएको छ ।

त्यस्तै आफ्नो दलको आन्तरिक समस्यालाई कारण देखाएर लोकतान्त्रिक प्रणालीको बर्खिलापनमा उभिने, संविधानमा हुँदै नभएको धारा प्रयोग गरि जनप्रतिनिधिमूलक संस्थाको विघटन गर्ने,संघीय लोकतान्त्रिक संविधानमाथि प्रहार गर्ने सरकारको यस किसिमको कदमले लोकतन्त्र मात्रै कमजोर नभएको र देशनै राजनीतिक र संवैधानिक अनिश्चयको भूमरीमा धकेलिएको विरोधपत्रमा उल्लेख गरिएको छ । अलोकतान्त्रिक र असंवैधानिक कदमका विरुद्ध प्रजातान्त्रिक विचार समाजले आईतबार सातवटै प्रदेश र ७७ वटै जिल्ला शाखाबाट विरोधपत्र बुझाएको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्