कोरोना संक्रमितको संख्या बढ्दै : आज थपिए ११३ जना संक्रमित

धादिङ,२२ असार।
देशभर थप ११३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

गत २४ घन्टामा देशभर २ हजार ७२४ कोरोना परीक्षण गर्दा ११३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १५ सय ४९ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ९० जना र ११ सय ७५ एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा २३ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।

योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट ९ लाख ७९ हजार ९९८ र एन्टिजेन विधिबाट १ लाख ४० हजार ५ सय ५९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये थप २० जना स्वस्थ भएका छन् भने मृत्यु हुनेको सङ्ख्या शून्य रहेको छ ।

हालसम्म देशभर कोरोना सङ्क्रमण पछि ९ लाख ६७ हजार ५७५ जना स्वस्थ भएका छन् भने ११ हजार ९ सय ५२ जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४ सय ७१ पुगेको छ ।

कोरोना संक्रमणको जोखिम केही कम भएसँगै सर्वसाधारणले स्वास्थ्यका सामान्य मापदण्ड समेत पालना गर्न छोडेका छन् । यही कारण कोरोनाको जोखिम बढ्दै गएको चिकित्सकहरुको भनाइ छ ।

स्वास्थ्य मापदण्डप्रति बेवास्ता गर्ने हो भने यसको जोखिम झने बढ्ने उनीहरूको भनाइ छ । मन्त्रालयका अनुसार कोरोना महामारीको जोखिम नसकिएकाले स्वास्थ्य मापदण्डलाई पूर्ण पालन गर्न छोड्नु हुँदैन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्