दूधको उत्पादन बढाउन माग

काठमाडौँ,२४ भाद्र ।
डेरी उद्योग सङ्घले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई तत्काल दूधको उत्पादन बढाउने कार्यक्रम ल्याउन आग्रह गरेको छ । अहिले बजारमा झन्डै एक लाख २० हजार लिटर दूधको अभाव देखिएकाले दीर्घकालीनरूपमा दूधको उत्पादन बढाउन सरकारसँग आग्रह गरेको हो ।

यसअघि सरकारद्वारा गठित समितिले समेत बजारमा दूधको अभाव रहेको प्रतिवेदन सार्वजनिक गरेको थियो । नेपालमा कूल ३४ लाख लिटर दूधको आवश्यकता रहेको छ । डेरी उद्योग सङ्घले शुक्रबार जारी प्रेस विज्ञप्तिमा सालिन्दा दसैँ तिहारमा औद्योगिक कच्चा पदार्थको अभावमा डेरी उद्योगनै बन्द गर्नुपर्ने स्थिति आएकाले केही समयसम्म झोल दूधको आयात गर्न सरकारलाई सुझाव दिएको छ ।

यसअघि केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घ, नेपाल डेरी एशोसिएशन, दुग्ध विकास संस्थानलगायतले भारतबाट केही समयका लागि झोल दूध ल्याउन सरकारको ध्यानाकर्षण गरेको सङ्घका अध्यक्ष राजकुमार दाहालले जानकारी दिनुभयो । सरकारले माग सम्बोधन गर्न आलटाल गरेकाले कररभ्याट तिर्ने निजी डेरी उद्योगले लगभग ४० प्रतिशतसम्म बिक्री वितरण कटौती गर्नुपरेको र पनिर, घ्यू, आइसक्रिमलगायत राजस्व सङ्कलन हुने दुग्धजन्य पदार्थको उत्पादन नै ठप्प गर्नुपर्ने स्थिति सिर्जना भएको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्