इजरायलविरुद्ध एकजुट हुँदै मुस्लिम देश, साउदीले बोलायो आपतकालीन बैठक

इजरायल र प्यालेस्टिनी लडाकु संगठन हमासबीच जारी रक्तपातपूर्ण संषर्षलाई लिएर इस्लामिक देशको संगठन अर्गनाइजेशन अफ इस्लामिक कोअपरेशन (ओआईसी) को आपतकालीन बैठक बस्ने भएको छ ।जेरुसलेम र गाजामा जारी संघर्षका कारण अवस्था खराब बन्दै गएपछि ओआईसीको आपतकालीन बस्न लागेको हो । साउदी अरबको अनुरोधमा आइतबार आपतकालीन बैठक बस्ने ओआईसीले जानकारी गराएको छ ।

ओआईसीमा साउदी अरब, पाकिस्तान, टर्की, इजिप्टसहित ५७ मुलुक आबद्ध छन् । आइतबार बस्न लागेको आपतकालीन बैठकमा प्यालेस्टाइनमाथि जारी इजरायली आक्रमणबारे छलफल हुने अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

सोमबार रातिदेखि गाजामा जारी इजरायली हवाइ हमलामा परी हालसम्म एक सयभन्दा बढीको ज्यान गइसकेको छ । शुक्रबार बिहानसम्म ११३ जनाको मृत्यु भएको छ र मृतकमध्ये ३१ जना बालबालिका रहेका छन् ।

त्यस्तै हमासले प्रहार गरेका रकेटमा परी इजरायलमा एक भारतीय महिलासहित ७ जनाको ज्यान गएको छ । रकेट प्रहार नरोकिएपछि इजरायलले गाजामा स्थल कारबाही गर्ने तयारी गरेको समाचारमा उल्लेख छ ।

इजरायल र प्यालेस्टाइनबीचको द्धन्द्ध दशकौंदेखि जारी छ । उक्त द्धन्द्धलाई अरब र यहुदीका लागि छुट्टा-छुट्टै राज्य निर्माण (two-state solution) मार्फत् समाधान गर्नुपर्ने ओआईसीको धारणा रहेको छ । प्यालेस्टिनी भूमिमाथिको इजरायली अधिपत्य अन्त्य गर्नका लागि ‌ओआईसीले इजरायली सामान बहिष्कार गर्न समेत अपिल गरेको छ ।

ओआईसीमा आबद्ध टर्की र पाकिस्तानले गाजामा भइरहेको इजरायली हमलाको कडा विरोध गर्दै आएका छन् । त्यस्तै इरान र कतारले समेत इजरायलले सैन्य कारबाही तत्काल रोक्नुपर्ने बताएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्