विद्यालय बन्द भएको अवधिको तलब भत्ता सरकारले वेहोर्न माग

काठमाडौं – कोरोना भार्ईरस (कोभिड – १९) जोखिमका कारण विद्यालयहरु बन्द हुँदा आफूहरुले नपाएको तलब भत्ता सरकारले वेहोर्नु पर्ने निजी विद्यालयमा कार्यरत शिक्षकहरुले माग गरेका छन् । संस्थागत विद्यालय शिक्षक यूनियनले यो सहित विभिन्न ६ बुँदे माग शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठलाई बुझाएको हो । कोरोनाका कारणले सिर्जित अवधिमा विगत ९ महिनादेखि शिक्षक कर्मचारीले तलब नपाएर कष्टकर जीवन विताईरहेका स्मरण गराउँदै युनियनले कोरोनाको नयाँ भेरियण्टसँगै फेरी दोश्रो चरणको लकडाउनका कारण विद्यालयहरु बन्द भए पनि आफ्नो समस्यामा विद्यालय सञ्चालकहरु संवेदनशील नभएको आरोप लगाएको छ । 

‘यो लकडाउनमा विद्यालयहरु बन्द भएको अवधिको शिक्षक कर्मचारीहरुले पाउने सम्पूर्ण तलब भत्ता राहतस्वरुप सरकारले बेहोरोस्’ उक्त मागमा भनिएको छ, ‘सम्पूर्ण संस्थागत विद्यालय र कार्यरत शिक्षक कर्मचारीहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा अनिवार्य दर्ता गराईयोस् ।’ 

सबै शिक्षक कर्मचारी सहित विद्यालयसँग सम्बन्धित जनशक्तिलाई कोभिड विरुद्धको खोपको तुरुन्त व्यवस्था गर्न, सरकारले तोके अनुसारको तलब भत्ता उपलब्ध गराउन पनि युनियनको माग छ । कोरोनाको बहानामा अहिले सम्म ३ हजार बढि शिक्षक कर्मचारी निष्काशनमा परेको युनियनका अध्यक्ष होमकुमार थापा र कार्यवहाक महासचिव भवानीप्रसाद पराजुलीद्वारा जारी विज्ञप्तिमा दावी छ । 

‘विद्यालय सञ्चालकहरु यसमा खासै संवेदनशील छैनन्, बरु शिक्षक कर्मचारीहरुलाई निष्कासन गरिरहेका छन्’ बधाई, शुभकामना तथा माग सम्बोधन गर्ने सम्बन्धमा भन्दै मन्त्रीलाई सम्बोधन गरिएको पत्रमा भनिएको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्