धादिङ,०१ जेठ
धादिङमा कोरोना रोकथाम तथा न्युनीकरण गर्नको लागि लागु गरीएको निषेधाज्ञा जारी छ । निषेधाज्ञाको समयमामा व्यवसायीहरुले बजारमा मूल्य वृद्धि गरेको गुनासो आउन थालेपछि धादिङमा बजार अनुगमन तिव्र पारीएको छ ।
धादिङको नीलकण्ठ नगरपालिका, सिद्धलेक गाउँपालिकाको बजार क्षेत्र र ज्वालामुखी गाउँपालिकाको सांधभज्याङ क्षेत्रका पसलहरुको अनुगमन गरीएको छ । कोरोना भाइरस संक्रमणको महामारीमा खाद्यवस्तुमा मिसावट, मूल्यवृद्धि, अखाद्य बस्तुको बेचविखच भएको भन्दै बजार अनुगमन गरीएको हो ।
जिल्ला प्रशासन कार्यालय धादिङ, घरेलु तथा साना उद्योग विकास कार्यालयल नीलकण्ठ नगरपालिका लगायतको संयुक्त टोलीले धादिङबेसी बजार क्षेत्र र राजमार्ग क्षेत्रमा अनुगमन गरेका छन् । टोलीले खाद्यान्न, फलफुल, तरकारी थोक तथा खुद्रा पसलमा अनुगमन गरेको हो ।
निशेधाज्ञाको समयमा व्यापारीहरुले खाद्यान्नका सामग्री चामल, दाल, तेल लगायतका खाद्य वस्तुलाई महंगो लिने गरेको उपभोक्ताले बताएका छन् । व्यापारीहरुले गोदाममा रहेका र निषेधाज्ञा अघि ल्याएका सामानहरुलाई पनि मुल्य बृद्धि भएर आएको भनेर चर्को मुल्लमा विक्रि गर्ने गरेका स्थानीयले बताएका छन् ।
नियमित आम्दानीको स्रोत नहुने र दैनिक ज्यालामजदुरी गरी आफ्नो हातमुख जोड्नु पर्ने वाध्यतामा रहेकाहरुलाई मुल्य बृद्धि हुँदा निकै अप्ठेरो परेको छ । अनगुमनको क्रममा मूल्यसूची कुनै पनि पसलमा नराखिएको, म्यान नाघेका अखाद्य बस्तु राखीएको, केहि पसलहरुले दर्ता पनि नगरेको पाईएको छ ।
टोलीले अनुगमन गरिएका फर्महरूमा तत्काल मूल्यसूची राख्न, साइनबोर्ड राख्न, बिल लिन दिन, म्याद गुज्रिएका सामग्री नराख्न, अनुमति नभएका सामग्री बिक्री नगर्न, इजाजत लिएर मात्र कारोबार गर्न निर्देशन दिएको छ।