लिग वानमा रिम्समाथि पिएसजीको फराकिलो जीत, उपाधि होड रोमाञ्‍चक मोडमा

३ जेठ । फ्रेन्च लिग वान फुटबलअन्तर्गत गएराति भएको खेलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी)ले शानदार जीत निकालेको छ । घरेलु मैदानमा भएको खेलमा पिएसजीले १०खेलाडीमा सीमित रिम्सलाई ४-० ले हराएको हो ।पिएसजीको जीतमा नेयमार जुनियर, किलियन एमबाप्पे, मार्किन्हस र मोइस किनले १-१ गोल गरे । पहिलो र दोस्रो हाफमा समान २–२ गोलको भएको थियो ।

खेलको १०औं मिनेटमा नै रिम्स १० खेलाडीमा समेटिएको थियो । युनिस अब्देलहामिदले पेनाल्टी बक्समा एमबाप्पेमाथि फल गरेपछि रेफ्रीले सिधै रातो कार्ड दिएका थिए । सोही फलमा प्राप्त पेनाल्टीमा नेयमारले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

२४औं मिनेटमा एमबाप्पेले गोल गर्दै पिएसजीलाई पहिलो हाफमा २–० ले अगाडि राखे । दोस्रो हाफको ६८औं मिनेटमा नेयमारको पासमा मार्किन्हसले गोल गर्दै पिएसजीलाई फराकिलो जीततर्फ अग्रसर गराए । ८९औं मिनेटमा सब्सिच्युट मोइस किनले गोल गर्दै पिएसजीलाई शानदार जित दिलाए ।

यो जीतसँगै पिएसजीले लिग वानको उपाधि जित्‍ने सम्भावना बलियो बनाएको छ । पिएसजीले सफलता हात पार्दा शीर्षस्थानमा रहेको लिलले सेन्ट इटिएनसँग गोलरहित बराबरी खेल्दा उपाधिको छिनोफानो अन्तिम खेलबाटै लाग्‍ने भएको छ । पीएसजीको ३७ खेलबाट ७९ तथा शीर्षस्थानको लिलको ८० अंक छ । पराजित रिम्स ४२ अंक जोडेर १३औं स्थानमा छ ।

लिगको अन्तिम खेलमा पिएसजीले ब्रेस्टसँग तथा लिलले एन्जर्ससँग खेल्दैछ । यो खेलमा जीत हात पार्ने टोली लिग वान च्याम्पियन बन्नेछ । दुवै टोली बराबरीमा रोकिएको अवस्थामा पनि लिल नै च्याम्पियन बन्नेछ । पिएसजीलाइ च्याम्पियन बन्न आफ्नो खेलमा जित निकाल्दा लिलले बराबरी वा हार व्यहोर्नुपर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्