गण्डकी मन्त्रिपरिषद् पहिलो बैठक : मन्त्रालय थप्ने गरी नियमावली संशोधन


 गण्डकी प्रदेशको बुधबार बसेको पहिलो मन्त्रिपरिषदको बैठकले प्रदेश सरकारको कार्य विभाजन नियमावली २०७४ लाई संशोधन गरेको छ।

प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतका अनुसार मन्त्रालय संख्या थप गर्न उक्त नियमावलीमा आवश्यक संशोधन गरिएको हो। बस्नेतलाई आज बसेको मन्त्रिपरिषद् बैठकले प्रवक्ता नियुक्त गरेको हो। उनी यसअघि पनि सरकारका प्रवक्ता थिए।

‘पहिले मुख्यमन्त्री कार्यालयसहित गण्डकीमा सात मन्त्रालय थियो। बीचमा हामीले एक मन्त्रालय थप गरेका थियौँ। केही मन्त्रालय फेरबदल गर्नुपर्ने र अहिले केही मन्त्रालय थप गर्ने गरी तयारी भएकाले उक्त नियमावली संशोधन गरिएको हो’, मन्त्री बस्नेतले भने।

बस्नेतका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोभिड अस्पताल बनाउन संघ सरकारलाई सिफरिस गर्ने निर्णय भएको छ।

यस्तै बैठकले मुख्यमन्त्रीका राजनीतिक सल्लाहकारमा लमजुङका डा भ‍ीष्म अधिकारी र योजना आयोगका उपाध्यक्षमा डा गिरधारी शर्मा पौडेल र सदस्यमा विष्णु बराल नियुक्त गरेको छ।

बुधबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद विस्तार गरेपछि आज अपराह्न ३ बजे प्रदेश प्रमुख सीताकुमारी पौडेलले निवासमा नवनियुक्त चार मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएकी थिइन्।

​यसअघिको सरकारमा सहभागी एमालेका किरण गुरुङ (अर्थ मन्त्रालय), रामशरण बस्नेत (भौतिक पूर्वाधार), नरदेवी पुन (सामाजिक विकास) र विकास लम्साललाई (उद्योग, पर्यटन वन तथा वातावरण) नै मुख्यमन्त्रीले निरन्तरता पाएका छन्। स्वतन्त्र निर्वाचित सांसद दीपक मनाङ्गे पनि युवा तथा खेलकुद मन्त्रीमा दोहोरिएका छन्।

अर्थ मन्त्रालयको जिम्मेवारी किरण गुरुङले नै लिएका छन्। रामशरण बस्नेत, नरदेवी पुन र विकास लम्सालको मन्त्रालय तोकिएको छैन। प्रवक्ता बस्नेत भन्छन्, ‘केही मन्त्रालय थप गर्ने गरी तयारी भएको छ। ककसले कुन मन्त्रालयको जिम्मेवारी पाउने भन्ने कुरा भोलिसम्म निर्णय हुन्छ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्