राष्ट्रिय सभा उपनिर्वाचन सुरु हुँदै

बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान आज बिहान ९ बजेदेखि सुरु हुँदैछ। मतदान दिउँसो ३ बजेसम्म जारी रहने बताइएको छ।  

निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको आयोगले जनाएको छ। उपनिर्वाचनमा वाग्मती प्रदेशसभा सदस्य ११० र वाग्मती प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८  मतदाता छन्।  निर्वाचनमा प्रदेशसभा सदस्यको ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ कायम गरिएको छ। 

निर्वाचनमा नेकपा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र अन्य दलका तर्फबाट खीमलाल देवकोटा प्रतिस्पर्धामा रहेका छन्। त्यस्तै नेपाल मजदुर किसान पार्टीका तर्फबाट कृष्णबहादुर तामाङले उम्मेदवारी दिएका छन्।  थापालाई सूर्य निर्वाचन चिह्न प्रदान गरिएको छ भने देवकोटा कलम चुनाव चिह्न प्रदान गरिएको छ। 

नेकपाबाट निर्वाचित गृहमन्त्री थापालाई दल त्यागसम्बन्धी कानूनका आधारमा नेकपा माओवादी केन्द्रले पदमुक्त गरेपछि रिक्त स्थानमा यो निर्वाचन हुन लागेको हो। वर्तमान संविधान कार्यान्वयमा आएपछि राष्ट्रियसभा सदस्यको पहिलो पटक उपनिर्वाचन हुन लागेको हो।

आज हुने राष्ट्रियसभा उपनिर्वाचनको नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गरिने गरी व्यवस्थापन मिलाइएको  छ। निर्वाचन सकिनासाथ मतगणना हुने र नतिजा पनि आजै आउने आयोगले जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्