संसद् विघटन प्रतिगामी कदमको निरन्तरता : दाहाल

काठमाडौँ — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले संसद् विघटनलाई प्रतिगामी कदमको निरन्तरता भएको बताएका छन् । 
पार्टी बैठकपछि शनिबार प्रेस वक्तव्य जारी गर्दै दाहालले शुक्रबार मध्यरातमा गरिएको प्रतिनिधिसभा विघटनको घोषणालाई असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र प्रतिगामी कदम भएको बताएका छन् ।

दाहालले संसद् विघटन षड्यन्त्रमूलक ढंगले गरिएको भन्दै गरेको राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीको विरोध गरेका छन् ।

‘हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा नेपालको प्रतिनिधि सभाका १४९ सदस्यहरुको हस्ताक्षरसहित नेपाली कांग्रेसका सभापति माननीय शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष दाबी गरियो । संवैधानिक रुपमा माननीय शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुको कुनै विकल्प थिएन’, दाहालको वक्तव्य छ, ‘तर, प्रधानमन्त्री र राष्ट्रपति मिलेर मध्यरातमा प्रतिनिधिसभा विघटन गर्ने घोषणा गरियो । यो २०७७ पौष ५ गतेको प्रतिगामी कदमको निरन्तरताको अर्को कडी हो भन्ने कुरा स्पष्ट छ ।’

दाहालले प्रधानमन्त्रीको कदमले अग्रगमन र प्रतिगमनबीच र राष्ट्रिय स्वाधीनता र विदेशी हस्तक्षेप एवं राष्ट्रिय आत्मसमर्पणवाद बीचको संघर्ष सुरु भएको पनि बताएका छन् । ‘हाम्रो पार्टीले प्रतिगमनविरोधी आन्दोलनको बीचबाट सर्वोच्च अदालतद्वारा पौष ५ गते विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापित गरिएपछि पनि प्रतिगमनको खतरा कायम रहेको निष्कर्षका साथ सबै प्रतिगमनविरोधी लोकतन्त्र एवं संविधान पक्षधर शक्तिहरुलाई त्यसप्रति सजग रहन गम्भीर अपील गर्दै आएको तथ्य पनि स्पष्ट नै छ’, दाहालको भनाइ छ, ‘यो स्थितिका लागि प्रधानमन्त्री ओलीको संघीय गणतन्त्र र समावेशी लोकतन्त्रविरोधी दृष्टिकोण, पद तथा सत्तास्वार्थ केन्द्रित चरम व्यक्तिवादी महत्वकांक्षा र राष्ट्रिय स्वाधीनताको मुद्दालाई सैदावाजीको विषय बनाउने सत्तास्वार्थ केन्द्रित राष्ट्रिय आत्मसमर्पणवादको मुख्य भूमिका रहेको छ । साथै प्रधानमन्त्रीको अन्ध सहयोगी भूमिकामा सीमित राष्ट्रपतिको पदीय दायित्व एवं गरिमालाई धूलोमा मिलाउने काम–व्यवहार पनि त्यत्तिकै जिम्मेवार रहेको छ । सारतत्वमा यो अग्रगमन र प्रतिगमनको बीच र राष्ट्रिय स्वाधीनता र विदेशी हस्तक्षेप एवं राष्ट्रिय आत्मसमर्पणवाद बीचको संघर्ष हो ।’

दाहालले संसद् विघटनको कदमविरुद्ध कानुनी र राजनैतिक सबै प्रकारको संघष गर्न प्रतिबद्ध रहेको पनि उल्लेख गरेका छन् । ‘हाम्रो पार्टी राष्ट्रपति र प्रधानमन्त्रीको मिलिमतोमा भइरहेको यस प्रकारको असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, प्रतिगामी एवं राष्ट्रघाती कदमको विरुद्ध कानुनी र राजनैतिक सबै प्रकारको संघर्ष गर्न प्रतिबद्ध छ’, उनको वक्तव्यमा छ, ‘नेकपा (माओवादी केन्द्र) राष्ट्रिय सार्वभैमिकता एवं स्वाधीनता, संविधान र लोकतन्त्र पक्षधर सबै राजनैतिक दलहरु, नागरिक समाज, बुद्धिजीवी, कानुनविद्, मानवअधिकारवादी, पेशाकर्मीलगायत आम जनसमुदायलाई एकताबद्ध भई राष्ट्रिय स्वाधीनता, संविधान, लोकतन्त्र र अग्रगमनको पक्षमा अभिन र संघर्ष गर्न हार्दिक अपील गर्दछ ।’

दाहालले देश अहिले कोरोना महामारीको दोस्रो लहरबाट आक्रान्त भएको र यस्तो बेलामा सम्पूर्ण राजनीतिक तथा समाजिक शक्तिहरुलाई एकजुट बनाएर महामारीविरुद्ध जुझ्नु पर्नेमा ओली सरकार जनताको जीवनरक्षा जस्तो विषयमा संवेदनशील नबनेको आरोप लगाए । ‘सरकार कोरोना संक्रमणको रोकथाम, नियन्त्रण एवं उपचार गर्न र यसको बुहआयामिक असरलाई संबोधन गर्न गम्भीर हुनुको सट्टा तुच्छ सत्तास्वार्थ केन्द्रित भई वाह्य हस्तक्षेपको आमन्त्रण एवं अभ्यास गराइरहेको छ र फाशिष्ट एवं राष्ट्रघाती बाटोमा अग्रसर भइरहेको छ’, दाहालको वक्तव्यमा छ, ‘त्यसैले प्रतिगमन र यस प्रकारको निरंकुश, स्वेच्छाचारी एवं राष्ट्रघाती प्रवृत्तिलाई परास्त गर्नु महामारीलगायत बहुआयामिक राष्ट्रिय संकटको समाधानको लागि अनिर्वाय छ ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्