विश्‍वकप छनौट खेलमा आज नेपाल र चाइनिज ताइपेई भिड्दै

काठमाडौं, २० जेठ । सन् २०२२ मा कतारमा हुने विश्‍वकप र २०२३ मा चीनमा हुने एसिया कप फुटबलका लागि भइरहेको एसियाली क्षेत्रको संयुक्त छनोट खेलको दोस्रो चरण आजदेखि कुवेतमा सुरु हुँदैछ ।

नेपालले दोस्रो चरणको आफ्नो पहिलो खेल आज चाइनिज ताइपेईसँग खेल्दैछ । खेल नेपाली समयअनुसार बेलुका पौने १० बजेदेखि सुरु हुनेछ । खेलको कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ ।

नेपाल अबदुल्लाह अलमुताइरीको प्रशिक्षण र किरण चेम्जोङको कप्तानीमा युवा खेलाडीको बाहुल्यता रहेको टोलीका साथ मैदानमा उत्रिनेछ ।

यसअघि भएको खेलमा नेपालले ताइपेईलाई २-० ले हराएको थियो । त्यसैगरी जोर्डन र अस्ट्रेलियासँग भने पराजित भएको थियो ।

अस्ट्रेलिया, कुवेत र जोर्डन विश्वकप छनोटको तेस्रो चरण पुग्ने होडमा छन् । अहिलेसम्म खेलेका सबै चार खेल जितेको अस्ट्रेलिया १२ अंक जोडेर तालिकाको शीर्षस्थानमा छ । त्यसैगरी ५ खेलबाट कुवेत र जोर्डनको समान १० अंक छ । नेपालले एक जीतबाट ३ अंक जोडेको छ र चाइनिज ताइपेई पाँचै खेल हार्दा अंकविहीन छ ।

नेपाललाई सन् २०२२ को कतार विश्वकप छनोटको अर्को चरणमा पुग्‍न कठिन छ । चाइनिज ताइपेई विश्वकपको तेस्रो चरणमा पुग्‍ने होडबाट बाहिरिसकेको छ । नेपाल अंकगणितीय रुपमा त्यो होडमा कायम छ । यद्यपि नेपालको एसियन कपमा छनौट हुने आशा भने जीवितै रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्