त्रिविको परीक्षा अब घरपायक

धादिङ,२२ ज्येष्ठ ।
कोरोना महामारीका कारण स्थगित भएको त्रिभुवन विश्वविद्यालयको परीक्षा अब विद्यार्थीले घरपायक बसेर नै दिन पाउने भएका छन् । त्रिविले विद्यार्थीको पायक पर्ने केन्द्रबाट परीक्षा लिने मोडालिटीमा परीक्षा सञ्चालन गर्ने भएसँगै अब घरपायक नै बसेर परीक्षा दिन पाइने भएको हो ।

त्रिविले कोरोना महामारीका कारण स्थगित स्नातक तह प्रथम वर्षको वार्षिक परीक्षा अनलाइनबाट सम्भव नदेखिएपछि विद्यार्थी जुन जिल्लामा पुगेको छ त्यहीँबाट परीक्षा लिने मोडालिटी बनाएको हो । विद्यार्थीलाई अब आफू अध्ययन गरेको क्याम्पसमा आएर परीक्षा दिनुपर्ने बाध्यता नरहेको बताउँदै त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले परीक्षा केन्द्र परिवर्तन गरेर पायक पर्ने स्थानबाट परीक्षा दिन पाउने गरी व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

सामान्य अवस्थामा विद्यार्थीले परीक्षा केन्द्र परिवर्तन गर्न र परीक्षा केन्द्र रोज्नसमेत नपाउने प्रावधान रहेको त्रिभुवन विश्वविद्यालयमा यो वर्ष भने कोरोना महामारीका कारण घरपायक परीक्षा केन्द्र रोज्न पाइने प्रावधान बनाइएको हो । १९ महिनाभन्दा बढी समयदेखि एउटै वर्षमा अध्ययन गर्न बाध्य स्नातक प्रथम वर्षका विद्यार्थीको परीक्षा साउनभित्रै लिने तयारीअनुसार नै विश्वविद्यालयले परीक्षामा यस खालको मोडालिटी बनाएको हो । त्रिविमा हाल स्नातक तहमा नयाँ र पुरानो गरी दुई समूहका विद्यार्थी छन् । 

विश्वविद्यालयमा हाल स्नातक तह पहिलो वर्षमा दुई लाख ५० हजारको हाराहारीमा विद्यार्थी छन् । ती विद्यार्थीको पठनपाठन वार्षिक परीक्षा प्रणालीका आधारमा भइरहेको छ । त्रिविले असार पहिलो सातासम्म परीक्षाको कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्