असल मानव बन्ने प्रण गरौँ

धादिङ,१७ असोज ।
आज महा–अष्टमी अर्थात नवरात्रिको आठौं दिन, नवरात्रिभरि माता दुर्गाका ९ वटा रुपहरु शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी,कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजाअर्चना गरिन्छ । आजको दिन दुर्गाको आठौं स्वरुप महागौरीको विधि विधान अनुसार पूजा अनुष्ठान गर्ने गरिन्छ ।

आजको दिन शक्तिकी महास्वरुपा महागौरी र भद्रकाली स्वरुपको अनुष्ठान गरिसकेपछि आजको दिन वलिदिने चलन छ । यसरी वलि दिंदा बोका, कुखुरा, हाँस आदि चढाउने चलन छ भने शाकाहारी र वलि दिन नचाहनेहरुले कुभिन्डो, घिरौला आदि फलफूललाई चार हातखुट्टा जस्तो साना साना लठ्ठी हालेर जनावरको स्वरुपमा वलि दिने गर्दछन् ।

विशेष गरी आजको दिनलाई लिएर कतिपयले आलोचना त कतिपयले संस्कार र संस्कृतिको रुपमा मानी बलिप्रथालाई बचाउ गरिरहेको पाउन सकिन्छ । लिङ्गे पीङको मच्चाई अनि पारिवारीक जमघटका समयमा दशैंको निलो स्वच्छ आकाश अनि माधुर्यता बिचमा बर्षभरिको थकानलाई बिट मार्दै दशैं मग्न हुनु हिन्दु धर्मालम्बीहरुको परम्परा रहेको अधिकाँशले बताउँदै आएको पाउन सकिन्छ ।

जनावर अधिकारसंग सम्बन्धित संघ–सस्थाहरुले अनि अन्तराष्ट्रिय नागरीक समाजहरुले यस्ता कार्यहरुलाई निन्दनीय भनेर ब्याख्या गरेको छ । अहिंसा पक्कै पनि राम्रो कुरा हो तथापि सभ्यतासंगै मासु खान जनावरहरुलाई प्रयोग गरिआएको चलनको मांशाहारीले पनि आ–आफ्नै तवरले ब्याख्या गरेका छन् । चाहे हिन्दुहरुको दशैं होस् या क्रिस्टियनहरुको क्रिसमस अनि थ्याङक्स गिभिङ्गमा खाइने टर्की चराहरु या मुसलमानहरुको इद बकरइदमा काटिने खसी बोकाहरु, कहिंकतै धर्म र संस्कारहरुबाटै मानव सभ्यताले मांशाहारी चलन बोकेर ल्याएको कुरा पनि हामीले पछ्याइ आएका छौं ।

पहिले पहिले बजारमा मासु किनेर खाने चलन नभएकाले र बजारमा सहज मासुको उपलब्धता नहुने अनि कृषिप्रधान समाज भएकाले घरमै पालिएको खसी बोकाहरुको सहज उपलब्धता भएकाले पनि वलि दिने चलन धेरै थियो तर आजभोली बजारमा सहज उपलब्ध मासु अनि मासु सेवनप्रतिको घट्दो आशक्तिले पनि हुनसक्छ घरैपिच्छे बलि दिने चलन घटेर गइरहेको छ ।

अर्कोतर्फ मासुहरु राख्नकालागि चाहिने चिस्यान यन्त्र अर्थात फ्रिजहरुको उपलब्धता धेरै नेपाली घरहरुमा नभएको कारणले पनि मासुहरु स्वस्थ्यवर्धक रहिरहन पाउँदैनन अनि धेरै चिल्लो गरेर पक्कु मासुहरु धेरै दिनसम्म राखेर खाने चलनले स्वास्थ्यमा नकारात्मक असर पुर्याइरहेको हुनसक्दछ ।

यस विषयमा मासु सेवनगर्दा सचेत रहन जरुरी छ ।संस्कृतमा वलिको अर्थ कुनैपनि कुरा त्यागिदिनु भन्ने बुझिन्छ, आजको दिन हामीपनि आफ्नो रिसराग, मोह, इर्श्या अनि घमन्डको वलि चढाएर एउटा असल मानव बन्ने प्रण गर्न सकौँ, सकेसम्म वलि दिने प्रचलन बेठिक छ र पशुलाई पनि बाँच्न पाउन अधिकार रहनुपर्ने कुरालाई जोडतोड्ले उठाउने कोसिस् गरौं अन्य स्थितिमा हामीलाई अत्यावश्यकिय अवस्था बाहेकका समयमा बाहेक मांसाहारी त्यति उचित छैन भन्ने सन्देश दिने काम गरौं । यहाँहरु सबैको दशमी सुखद् शान्ति तरिकाले सपन्न होस् यहाँहरु सबैलाई महाअष्टमीको शुभकामना ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्