पुस्तकमा पुरानो नक्सा भेटिए जफत गरिने,अटेर गरे कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन

नयाँ पाठ्यपुस्तकमा नेपालको पुरानो नक्सा राखेर छापी बिक्री गरेको भेटिएमा पुस्तक जफत हुने भएको छ । केही निजी प्रकाशनले प्रकाशन गरेको विद्यालय तहको पाठ्यपुस्तकमा पुरानै नक्सा राखी छापेसँगै शिक्षा मन्त्रीको यस्तो निर्देशन आएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले पुरानो नक्सा छापेर बिक्री गरेको पुस्तक जफत गर्न निर्देशन दिनुभएको हो । केही निजी प्रकाशकले नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेको जानकारी पाएपछि मन्त्री श्रेष्ठले सो निर्देशन दिनुभएको हो ।

शिक्षा मन्त्री श्रेष्ठले अटेर कार्य गर्ने पुस्तक प्रकाशक र बिक्रेतालाई कानुनको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिनुभएको हो । उहाँले सरकारको आँखा छलेर पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गर्ने पुस्तक प्रकाशक र वितरकलाई तत्काल स्पष्टीकरण सोध्ने, पुरानो नक्सा अंकित बजारमा बिक्री भएका पुस्तक जफत गर्ने र मन्त्रालयको निर्देशन अटेर गरे कानुनअनुसार अनुसार कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिनुभएको हो ।

पाठ्यक्रम विकास केन्द्रका अनुसार अधिकांश बिक्रेताले नेपालको पुरानो नक्सा उल्लेख गरी बिक्री गरेका छन् । केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेका प्रकाशक र बिक्रेतामाथि कारबाही प्रक्रिया अघि बढाउने बताउनुभयो । पुरानो नक्सा राखेर पुस्तक छापाइ गरेका केही प्रकाशकलाई स्पष्टीकरण सोधेर कारबाही प्रक्रिया अघि बढाएका महानिर्देशक न्यौपानेले जानकारी दिनुभयो । अधिकांश पुस्तक प्रकाशक र बिक्रेताले सामाजिक शिक्षा, जिकेलगायतका पुस्तकमा पुरानै नक्सा राखेर छपाइ गरेको पाइएको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्