चितवनको विभिन्न ठाउँहरु जलमग्न

चितवन — महाभारत पर्वत मुहान भएर दक्षिण बग्ने खहरे उर्लदा बिहीबार बिहान पूर्वी चितवनका विभिन्न गाउँहरु जलमग्न भएका छन् । कयर खोला, लदरी खोला पप्पा खोलामा ठुलो बाढी आएको स्थानीयले बताए नारायणी नदी र दक्षिणको अर्को ठूलो खोला राप्ती तुलनात्मक रुपमा शान्त हुँदा ठाडा खोलाहरुमा भेल उर्लेको थियो । राप्तीको साटो बुढी राप्तीमा ठूलो भेल आउँदा पर्यटकीय क्षेत्र सौराहासँग सम्बन्धविच्छेद गरायो ।‘राप्तीमा ठूलो बाढी आएको छैन । जति आयो यीनै ठाडा खोलाहरुमा आयो । राप्तीमा पनि यही अनुपातमा बाढी आएको भए पूर्वी चितवनमा यो पटक गम्भीर क्षति हुने अवस्था थियो,’ रत्ननगर चित्रसारी घर भएका सौराहाका होटल व्यवसायी दामोदर रेग्मीले भने । चित्रसारीबाट बाघमारा, बद्रहनी हुँदै बुढी राप्ती खोला मकपानपुरबाट बग्दै आउने राप्ती खोलामा मिसिन्छ ।कयर खोलाको बाढी पसेर खैरहनी नगरपालिका–१ बेल्सीमा रहेको बाबा ग्यास उद्योगमा क्षति पुगेको छ । उद्योगभित्र रहेका सिलिन्डरहरु प्रायः बगेको र पानीमा डुबेर मेसिनका पाटपुर्जाहरु बिग्रेको उद्योगका निर्देशक विमल कालाखेतीले बताए । क्षति एकिन गर्न नसकेको उनले बताए ।त्यसैगरी लदरी खोला उर्लदा खैरहनी–३ को ग्रामिण क्षेत्र जोड्ने ३० मिटर लम्बाइको पुल बगेको खैरहनीका मेयर लालमणि चौधरीले बताए ।खोलाको बाढी राजमार्गभरी भएको थियो । बिहान केही बेर गाडीहरुसमेत चल्न सकेनन् । घरहरु डुबानमा परेका छन् । चितवन जिल्ला प्रहरी कार्यालयले विवरणहरु संकलन हुँदै गरेको जनाएको छ । लदरी खोलाको भेलले राप्ती नगरपालिका–९ रसौलीका तीनवटा घर, एउटा खाजा पसल र तीनवटा बंगुर फर्ममा क्षति पुर्‍याएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सूर्य थापाले जानकारी दिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्