गरिमा र दुर्गेशको टिकटक खेल, ‘रजतपट’ले कहाँ गर्यो झेल ?

केही दिन अगाडि एउटा गीतको छायांकनमा भेटिएकी एक गायिकाले अनौपचारिक कुराकानीका क्रममा आफूले टिकटकबाट एक महिनामै ११ लाख कमाएको बताइन् । उनले, टिकटकमा यति धेरै रकम कमाउनका लागि लाइभमा गरिने खेललाई बढी स्थान दिएकी रहिछन् । टिकटक लाइभमा आएर खेल खेल्दा धेरै गिफ्ट पाउन सके पैसा पनि राम्रो कमाउन सकिने उनको तर्क थियो । यसका लागि आफू लाइभमा नबोल्ने, दुःखी हुने गरेको उनको भनाई थियो ।

पछिल्लो समय सामाजिक संजाल टिकटक भाइरल हुनका लागि मात्र नभएर आम्दानीको राम्रो श्रोत पनि बन्ने गरेको छ । अझ, लाखौ फलोअर्स भएका कलाकार लाइभमा आएर विभिन्न खेल खेल्दै गिफ्ट पाउन लालयित छन् । तर, यसो गर्दै गर्दा कलाकारले आफ्नो सिमा र दायरा भने विर्सन हुँदैन ।

केही दिनयता सामाजिक संजाल टिकटकको एक भिडियो भाइरल छ । यो भिडियोमा गायक दुर्गेस थापा र मोडल गरिमा शर्माविचको संवाद सुन्न सकिन्छ । संवादमा दुर्गेसले गरिमालाई तथानाम मुख छाडेका छन् ।उसो त, भाइरल भएको सानो टुक्रा मात्र हेर्ने हो भने दुर्गेस र गरिमाको पहिले प्रेम रहेको र ब्रेकअप भएपछि एकले अर्काको पोल खोल्न थालेको जो कोहीले वुझ्न सक्छ । तर, वास्तविकता भने यस्तो होइन ।

के हो त वास्तविकता ?
टिकटकमा लाइभमा आएर दुर्गेस र गरिमाले खेल खेले । खेल खेल्ने क्रममा दुर्गेसले गरिमालाई भनेका छन्–‘तिमीले आफ्नो पूर्व प्रेमीलाई भेट्यौं । अब, उसँग कसरी कुरा गर्छौ रु’यही बिषयमा खेल खेल्ने क्रममा दुर्गेसले गरिमालाई मुख छाडेका छन् । जुन क्लिप्स भाइरल भयो ।

यो भिडियो दर्जन बढी युटुब च्यानलमा राखिएको छ । यो बेलासम्म पनि गरिमाले खासै प्रतिक्रिया दिएकी थिएनन् । तर, एपीवान टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ‘रजतपट’मा यो बिषयमा रिपोर्ट नै प्रशारित भएपछि भने गरिमाले कानुनी उपचारमा जाने बताएकी छिन् ।

रजतपटको रिपोर्टमा के भनिएको छ ?
रिपोर्टमा गरिमा र दुर्गेसको प्रेम रहेको र अहिले ब्रेकअप भएको उल्लेख गरिएको छ । दुर्गेस विवाहित व्यक्ति भएको र छोरा पनि रहेको रजतपटको रिपोर्टमा उल्लेख छ । दुर्गेसको छोरा भएको जानकारी पाएपनि गरिमाले किन उनीसँग लभ गरिन् भन्ने प्रश्न कार्यक्रममा उठाइएको छ ।

गरिमाले दुर्गेसलाई किन छाडिन् भन्ने प्रश्न समेत कार्यक्रममा सोधिएको छ । प्रशारित रिपोर्टको अन्तिममा भने, कलाकार भैसकेपछि टिकटकमा लाइभ आएर यस्ता शब्द प्रयोग गर्न हुन्छ त भनेर टिप्पणी गरिएको छ । कलाकार भैसकेपछि यस्ता कुरामा ध्यान दिन आवश्यक छ भन्ने सुझाव समेत कार्यक्रममा दिइएको छ ।

कार्यक्रम संचालक प्रकाश सुवेदीले त मासिने बेलामा यस्ता वुद्धी आउने गरेको टिप्पणी गरेका छन् ।

को कहाँ चुके ?
यो बिषयमा गरिमा, दुर्गेस र ‘रजतपट’ कार्यक्रम चुकेको देखिन्छ । दुर्गेस र गरिमाले लाइभ आएर खेल खेल्ने नाममा जुन तरिकाका शब्दहरु प्रयोग गरेका छन्, त्यो एक कलाकारको नाताले सुहाउने कुरा पटक्कै होइन । लाइभमा बसेर यस्ता खेल खेल्दा डलर आउँछ भन्दैमा शब्दको सिमा नहेर्ने हो भने कलाकारप्रति दर्शकले गर्ने विश्वास नै कम हुँदै जान्छ ।

उसो त, टिकटकमा टुक्रा राखेर लाइक र कमेन्टका लागि अरुलाई बदनाम गराउने क्रम बढिरहेको समयमा कलाकारहरु त झनै यस बिषयमा सजग हुनुपर्ने हो । तर, भाइरल भएर चर्चामा आएका दुर्गेस थापाले (लाइभमा खेल खेलिएको भएपनि) प्रयोग गरेका शब्दहरु निकै नै तल्लोस्तरका छन् । यो देशकै गहना भनिने कलाकारबाट अपेक्षा गर्न सकिने कुरा हुँदै होइन ।

के भन्छन् प्रकाश सुवेदी ?
कार्यक्रम ‘रजतपट’मा विवादस्पद रिपोर्ट प्रशारण गरेर बारम्बार विवादमा आइरहेका पत्रकार प्रकाश सुवेदीले आफूहरुले कलाकार भैसकेपछि कुनै पनि बिषयमा बोल्दा हेक्का पुर्याउने पर्ने भनेर रिपोर्ट बनाएको प्रतिक्रिया दिए । अनलाइनखबरसँग कुरा गर्दै उनले भने–‘टिकटकमा आएर लाइभमा जस्तो पनि शब्द प्रयोग गर्न मिल्छ रु कलाकार भैसकेपछि यस बिषयमा हेक्का राख्नु पर्दैन । एकातिर मानिसहरु कलाकारलाई सम्मान गरेर उनीहरुको सहयोगमा लाखौं रकम जुटाइरहेका छन् । अर्कोतिर, कलाकारहरु आफूले आफैलाई भाइरल हुने लोभमा बदनाम गराइरहेका छन् । यसले, हाम्रो कलाकारिता क्षेत्र कता जान्छ ?

प्रकाशले यो बिषयमा कुरा गर्न गरिमालाई आफूले बारम्बार कार्यलयमा बोलाएपनि उनी नआएको बताए । उनले भने–‘यही भिडियो दर्जनौं युटुब च्यानलमा प्रशारण हुँदा केही नहुने । अनी, रजतपटमा आएपछि भने कानुनी उपचार खोज्छु भन्ने कारण के रहेछ रु’ सुवेदीले, गरिमा कानुनी उपचारमा गएको खण्डमा आफूहरु पनि तर्कसहित प्रस्तुत हुने बताए ।

गरिमा के भन्छिन् ?
रजतपटमा आफ्नो बिषयमा नकारात्मक रिपोर्ट प्रशारण भएपछि मोडल गरिमा शर्मा टिकटकमा लाइभ आउँदै आफूमाथि अन्याय भएको बताएकी छिन् । लाइभमा रुदै गरिमाले आफू पनि एक प्रतिष्ठित परिवारबाट आएको भन्दै यस्ता समाचारले आफ्नो चरित्रहत्या भएको भन्दै कानुनी उपचारमा जाने बताएकी छिन् । आफू नयाँ भएपनि कमजोर नरहेको गरिमाको भनाई छ । गरिमाले आफूले यो बिषयमा कार्यक्रम संचालकलाई सबै कुराको जानकारी गराएपनि नकारात्मक रुपमा रिपोर्ट प्रशारित गरेर आफ्नो चरित्र हत्या गरिएको बताएकी छिन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्