दिल्लीसँग राजस्थान रोयल्स ३३ रनले पराजित

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ शनिबार साँझ भएको खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ३३ रनले पराजित गरेको छ। 

दिल्लीले दिएको १५५ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२१ रन मात्र बनाउन सक्यो। राजस्थानका कप्तान सञ्जु स्यामसन ५३ बलमा ८ चौका र एक छक्कासहित ७० रनमा अविजित रहे पनि टोलीको हार टार्न सकेनन्। स्यामसनबाहेक अन्य कुनैपनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । 

ओपनर लियाम लिभिङस्टोन १, यशस्वी जैसवाल ५, डेविड मिलर ७, महिपाल लोमर १९, रियान पराग २ र राहुल टेवाटिया ९ रनमा आउट भए।

दिल्लीका एनरिच नोर्कियाले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । आवेश खान, रविचन्द्रन आश्विन, कागिसो रबाडा र अक्षर पटेलले एक एक विकेट लिए।

त्यसअघि आवुधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ६ बिकेट गुमाउँदै १५४ रन बनाएको थियो। दिल्लीका श्रेयस ऐरले ३२ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ४३ रनको योगदान दिए। शिम्रन हेटमायरले १६ बलमा ५ चौका सहित २८ रन जोड्दै आउट भए।

ओपनर पृथ्बी शाह १०, ऋषभ पन्त २४, शिखर धवन ८, ललित यादव १४ र अक्षर पटेलले १२ रनको योगदान गरे। राजस्थानका मुस्ताफिजुर रहमानले ४ ओभरमा २२ रन खर्चेर २ बिकेट लिए। चेतन सकारियाले २, कातिक त्यागी र राहुल टेवाटियाले एक एक बिकेट लिए।राजस्थानलाई पराजित गरेसँगै दिल्ली अंकतालिका शीर्षस्थानमा उक्लिएको छ। nepalsamaya

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्