दुई वर्षको अवधीमा नेपालमा ३९ करोड ३२ लाख थान मास्क आयात

कोरोना महामारी सुरु भएदेखि हालसम्म नेपालमा ३९ करोड ३२ लाख थान मास्क भित्रिएको छ। आर्थिक वर्ष २०७७/७८ असोजमा ३५ करोड ९८ लाख थान र २०७८/७९ मा ३ करोड ३४ लाख थान मास्क नेपाल भित्रिएको भन्सार विभागका सूचना अधिकारी पुण्य विक्रम खड्काले जानकारी दिनुभयो। दुई आर्थिक वर्षमा २७ करोड रुपैयाँ बराबरको मास्क आयत भएको खड्काले बताउनुभयो।

नेपालमा कोरोनाले महामारीको रूप लिएपछि यसबाट बच्न मास्कको प्रयोग अनिवार्य गरियो। त्यही महामारीको मौका छोपेर व्यापारीहरूले स्वास्थ्य मापदण्ड पालना नगरी आफूखुशी मास्क बजारमा ल्याएको उपभोक्ता हित संरक्षण नेपालका उपमहासचिव विष्णुप्रसाद तिमल्सिनाले बताउनुभयो।

हालसम्म नेपाली बजारमा भेटिने मास्क गुणस्तर युक्त नभएको तिमल्सिनाको भनाइ छ। सर्वसाधारणले महामारीको सुरुवाती चरणमा एउटा मास्कलाई १०० रुपयाँसम्म तिरेका थिए। हाल १० रुपैयाँमा पाइन्छ तर त्यसको गुणस्तर नभएको उपमहासचिव तिमल्सिनाले बताउनुभयो।

सर्जिकल मास्क भनेर बजारमा आएका मास्क गुणस्तरीय नभएको तिमल्सिनाले बताए। मास्कलाई औषधिजन्य सामग्रीको रूपमा लिइन्छ। तिमल्सिनाले भने, ‘यसको गुणस्तर औषधि व्यवस्था विभाग र गुणस्तर तथा नापतौल विभागले हेर्नुपर्थ्यो। त्यसतर्फ ध्यान जान सकेको छैन।’ सरकारी बेवास्ताका कारण सर्वसाधारण ठगिँदै आएको उहाँले बताउनुभयो।

यतिवेला बजारमा विभिन्न प्रकारका मास्क देख्न सकिन्छ। त्यसको मापदण्ड र गुणस्तर भने परीक्षण हुन सकेको छैन। औषधीय काम गर्ने मास्कको परीक्षण औषधि व्यवस्था विभागले गर्नुपर्ने भए पनि हालसम्म हुन सकेको छैन। यता औषधि व्यवस्था विभागले नेपालमा उत्पादन भएका मास्कको गुणस्तर आफूहरुले नहेर्ने औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले बताए। नेपाली बजारमा कस्ता र कति उत्पादन भएका छन् भन्ने आफूलाई जानकारी नभएको महानिर्देशक ढकालले बताउनुभयो।

नेपालमा यतिवेला धेरै मात्रामा मास्क उत्पादन गर्दै आएका छन्। मास्क उत्पादन गर्ने कतिवटा कम्पनी छन् भन्ने तथ्याङ्क छैन। हालसम्म जगदम्बा उद्योगले मात्र उद्योग दर्ता गरेर मस्को उत्पादन गरेको  नेपाल गुणस्तर तथा नापतौल विभागका उपमहानिर्देशक विश्व बाबु पुडासैनीले जानकारी दिनुभयो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्