बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइदै,धादिङमा ४६५ स्थानबाट खुवाइने

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईदै छ। राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत धादिङ सहित देशैभर आज र भोलि बालबालिकालाई  भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने छ।

धादिङमा आज जिल्लाभरका ४ सय ६४ जना स्वास्थ्यस्वयमसेविकाहरुले ४ सय ६५ स्थानबाट भिटामिन ए र जुकाको औषधी खुवाइने नीलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु रिजालले जानकारी दिनुभयो ।

जिल्लामा ६ महिनादेखि ५ बर्षसम्मका ३५ हजार बालबालिकालाई भिटामिन ए र १ बर्षदेखि ५ बर्षसम्मका ३० हजार बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य रहेको छ ।

यसअघि कात्तिक ३ र ४ गते खुवाउने गरिएको कार्यक्रम यसवर्ष ७ र ८ मा खुवाउन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन जाँदा आवश्यक स्वास्थ्यका मापदण्डलाई पालना गर्न पनि आग्रह गरेको छ। यस्तै भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनका लागि खटिएका स्वास्थ्यकर्मीलाई पनि अनिवार्य जनस्वास्थ्यका मापदण्ड पालना गर्न भनेको छ ।

कम्तिमा दुई मिटरको दूरी कायम गर्ने, मास्क अनिवार्य लगाउने, स्यानिटाइजरको नियमित प्रयोग गर्ने, साबुनपानीले नियमित हात धुने जस्ता जनस्वास्थ्यका मापदण्ड कडाईंका साथ पालना गर्न सरकारले सबैलाई आग्रह गरेको छ । सरकारले हरेक वर्ष  ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’  र एक वर्ष देखि ५ वर्षको बालबालिकालाई जुकाको औषधि खुवाउँदै आएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्