बच्चाको लागी स्तनपान अर्थात आमाको दुध किन महत्वपूर्ण छ?:हेल्थ नर्सिङ अधिकृत पाण्डेसँगको कुराकानी

रेडियो कार्यक्रम भन्छिन आमामा(पुर्ण स्तनपानको लागि सही आसन, सम्पर्क र पटकका विषयमा स्वास्थ्य कार्यालय धादिङमा पब्लिक हेल्थ नर्सिङ अधिकृतका रुपमा सेवारत अम्बिका पाण्डेसँग ६ महिना उमेर पुरा नभएका बच्चालाई पुर्ण स्तनपान गराउनको लागि सही आसन सम्पर्क र पटक भनेको के हो ? र, यसको महत्व किन छ भन्ने बिषयमा र नागरिकहरुको प्रश्न एवं जिज्ञाशाहरुलाई लिएर अनिल नेपालीले गर्नुभएको कुराकानीको अस्मिता पोखरेलद्धारा संपादित अंशः

१. शुरुमा बच्चाको लागि स्तनपान अर्थात आमाको दुध किन महत्वपुर्ण हुन्छ ? 

बच्चा जन्मिसकेपछि छ महिनासम्म बच्चालाई स्तनपान मात्र गराउन पर्छ। बच्चाको लागि स्तनपान भनेको पुर्ण आहार हो । बच्चा जन्मेको एक घण्टा भित्र आमाको दुध चुसाउन पर्छ। बेगौति दुधले शरीरसँग लड्न सक्ने क्षमता प्रदान गर्छ त्यो निचोरेर फाल्नु हुँदैन। त्यसपछि छ महिनासम्म पानी पनि नखुवाइ आमाको दुध खुवाउन पर्छ। त्यसले बच्चाको बृद्धि र विकासमा एकदम महत्वपुर्ण भुमिका खेलेको हुन्छ ।

२. विशेषगरी छ महिना मुनीको बच्चालाई आसनसम्पर्क र पटक मिलाएर पुर्णस्तनपान गराउनुपर्छ भनिन्छ, पुर्ण स्तनपान भनेको के हो त ?

पुर्ण स्तनपान भनेको बच्चा जन्मीसकेपछि छ महिनासम्म आमाको दुध मात्र खाने पानी पनि खुवाउन पर्दैन ।कतिपय ठाउँमा विभिन्न परिवारमा पानी खुवाइदिने,मह चटाइदिने गरेको हुन्छ त्यो गर्नु हुँदैन त्यो गर्यो भने पुर्णस्तनपान हुँदैन ।पटक पटक बच्चाले चाहे अनुसार आमाले दुध खुवाउन पर्छ त्यो नै पुर्ण स्तनपान हो । 

३.पुर्ण स्तनपान गराउँदा सही आसन, सम्पर्क र पटकको कुरा गर्छौ यो आसन, सम्पर्क र पटकको बारेमा प्रष्ट पारिदिनुस् न ?

आसन र सम्पर्क भनेको एकदम महत्वपुर्ण कुरा हो । सम्पर्कको कुरा गर्दा चीउँडोले स्तन छोएको, ओठ तल तिर फर्केको र मुख पुरा खुलेको हुनुपर्छ । दुध खुवाउँदा कालो भाग नै बच्चाको मुख भित्र पसेको हुनुपर्छ त्यो सम्पर्क भएको हो । आसनमा बच्चाको गर्धन र शरीर सिधा हुनुपर्छ । बच्चाले राम्रोसँग अडेस पाएको, आमासँग टासिएको र आमातिर फर्किएको हुनुपर्छ ।  

आसन र सम्पर्क राम्रोसँग मिल्यो भने बच्चाले राम्रोसँग दुध खान्छ। कम्तिमा पनि दिनमा १० पटक र २ पटक रातिमा गरेर १० देखि १२ पटक स्तनपान गराउँन पर्छ भनेर भनिन्छ । अहिले पटक भन्दा पनि बच्चाले जति बेला चाहन्छ त्यति बेला स्तनपान गराउनुपर्छ । कम्तिमा पनि १५ मिनेट एउटा स्तनपान गराउनु पर्ने हुन्छ। त्यो समय दिन नसक्दा बच्चाले राम्रोसँग आमाको दुध खान पाइरहेको हुँदैन।त्यसैले पटक अथवा बच्चाले चाहिरहेको अवस्थामा सम्पर्कहरु र बच्चा आमाको आसन मिल्यो भने राम्रोसँग दुध चुस्न सक्छ । 

४.सहि आसन सम्पर्क र पटक मिलाएर बच्चालाई दुध चुसाउँदा के फाइदा हुन्छ ?

बच्चा र आमालाई नै धेरै फाईदा हुन्छ। बच्चाको बृद्धिविकास एकदम राम्रो हुन्छ । दुई वर्ष भित्र ८० प्रतिशत बच्चाको दिमाग बृद्धि विकास हुने भएको कारण स्तनपानले यसमा ठुलो भुमिका खेलेको हुन्छ । बच्चालाई पुर्ण आहारको रुपमा दुध स्तनपान हो । स्तनपानले बच्चालाई रोगसँग लड्न सक्ने क्षमता बृद्धि गर्छ ।

आमाको हिसावले हेर्दा आर्थिक रुपमा पनि फाईदा भयो । स्तनपान गराउँदा बच्चा र आमाको माया बढ्छ । बच्चा जन्मने वित्तिकै स्तनपान गरायो भने आमाको साल पनि चाँडै झर्ने  र रगत बग्न कम हुने गर्छ ।  रोग नलाग्ने भएको कारण छ महिनासम्म पुर्ण खोपको रुपमा पनि लिइन्छ आमा र बच्चालाई धेरै फाइदा हुन्छ ।  

फोन सम्पर्क 
सागर अधिकारी,प्युठान :छ महिना मुनिका बच्चालाई पुर्ण स्तनपान नसकेमा भविष्यमा बच्चालाई के कस्तो असर पर्छ होला ? 

स्तनपान नगरेको बच्चा र स्तनपान गरेको बच्चालाई हेर्ने हो भने धेरै फरक हुन्छ। स्तनपान नगरेको बच्चाहरुको दिमागी क्षमता अलि कम हुन्छ र स्तनपान गरेका बच्चाहरुमा दिमागी क्षमता राम्रो हुन्छ र रोग लाग्दैन । स्तनपान नगराए र अरु भैँसीका दुधहरु खुवाएका बच्चामा चाँडै रोगहरु लाग्ने जस्तै झाडा पखाला अथवा विभिन्न रोगहरु लाग्ने समस्या हुन्छ ।

पुर्ण स्तनपान गरेका बच्चाहरुलाई रोग कम लाग्छ त्यसकारण बच्चालाई स्तनपान गराउनु एकदम महत्वपुर्ण कुरा हो । आफनो बच्चालाई स्वस्थ र सुन्दर र रोगसँग बचाउनको लागि स्तनपानको ठुलो महत्वपुर्ण हुन्छ। 

५.कतिपय आमाहरुले बच्चालाई दुध चुसाउँदा दुध आएन वा बच्चाले दुध चुसेन भन्ने गुनासोपनि गर्नुहुन्छ,के कति कारणले यस्तो हुन्छ ?

स्तनपान राम्रोसँग आसन र सम्पर्क नमिल्दा र पुर्ण रुपमा स्तनपान गराउँदा एउटा स्तन १५ मिनेटसम्म स्तनपान गराउनु पर्छ । पहिला ४/५ मिनेट आउने दुध पातलो हुन्छ बच्चाले तिर्खा मात्र मेट्छ अघाउँदैन र ७/८ मिनेट पछि आउने दुध बाक्लो हुन्छ बच्चा अघाउने दुध हुन्छ। अहिले हाम्रो स्वास्थ्य संस्थाहरुमा तालिम दिएको छ ।

उहाँहरुले बच्चा आउने वित्तिकै स्तनपानको समस्या होकि होइन हेर्नुहुन्छ र बच्चालाई स्तनपान गराउन लगाएर सम्पर्क र आसन मिलेको छ कि छैन हेर्नुहुन्छ र सिकाइदिनुहुन्छ । आमाले सजिलो सँग बस्नुपर्छ र बच्चालाइ पनि आसन कुरालाइ एकदम ध्यान दिएर एउटा दुधलाई १५ मिनेटसम्म चुसाउन पर्छ त्यसपछि बच्चा निदाउँछ, अघाउँछ ।

अर्को पटक खुवाउँदा अर्को स्तन खुवाउनुपर्छ। आफनो बच्चालाइ पुर्ण रुपमा स्तनपान दिँदा बच्चाको स्वास्थ्य, दिमागी क्षमता  राम्रो हुन्छ। कुनै पनि रोग लाग्दैन, त्यसैले सम्पुर्ण आमाहरुले समय दिएर कम्तिमा १५ मिनेट सही आसन र सही सम्पर्क अपनाएर स्तनपान गराउनको लागि अनुरोध गर्दछु ।

६.दुध नआउनुमा आमाको पोषणयुक्त खानपान नपुगेको हो कि ? वा  आसन, सम्पर्क र पटक नमिलेरै पनि बच्चाले दुध नचुसेको हुनसक्छ कि ? के हो ? 

स्तनपान गराउँदा सुरुमा अपरेसन गरेको आमाहरु हुनुहुन्छ अथवा आफनो बच्चालाई दुध चुसाउन नसक्ने बाहिरको दुध खुवाउनु भन्ने,यस्तो गर्यो भने बच्चाले अर्को चिजको स्वाद पाएपछि आमाको दुध चुस्दैन। आमाको दुध नचुसेपछि विस्तारै हर्मोनले गर्दा दुध पनि कम उत्पादन हुन सक्छ।

जति बच्चाले चुस्यो त्यति उत्पादन हुने हो र बच्चालाई बिचबिचमा पानी खुवाउने अथवा भैँसीको दुधहरु खुवाइदिने गरेको छ भने आमाको दुधमा बच्चाले चाख दिएर खाँदैन र अरु कुराहरुमा रमाउन थाल्छ आमाको दुध विस्तारै कम हुन्छ र आमाको दुध नआउन पनि सक्छ। त्यही कारणले सकेसम्म आमाको दुध मात्र खुवाउने पटक पटक खुवाउने गर्दा कुनै पनि दुध नआउने भन्ने हुँदैन।

पोषणका कुरामा झोलिलो कुरा ज्वानोको झोल बच्चा जन्मीसकेपछि क्याल्सियक पाउने चिजहरु धेरै मात्रामा खानु पर्छ। बिहान र बेलुकाको खाना बाहेक थप २ पटक खाना सुत्केरी आमाहरुलाई खुवाउन पर्छ। 

७. ६ महिना मुनीको पूर्ण स्तनपान गराउनुपर्ने बच्चालाई दिन र रात गरि कतिपटक दुध चुसाउनु पर्दछ ? र एउटा स्तन कति बेर चुसाउनु पर्छ ?

दिनमा कम्तिमा १० पटक र रातमा २ पटक गरेर १० देखि १२ पटकसम्म स्तनपान गराउनुपर्छ । यो बाहेक बच्चाले जति बेला दुध खान चाहन्छ त्यति बेला दुध खुवाउनु पर्छ ।

यसरी खुवाउँदा बच्चा अघाउँछ,  रुदैन, त्यसैले पटक महत्वपुर्ण छ । एक पटिको दुध १५ मिनेटसम्म स्तनपान गराउन पर्छ । र अर्को पटक खुवाउँदा अर्को स्तनको खुवाउन पर्छ । 

फोन सम्पर्क
ऋशिराम पाण्डे,प्युठान:कुनै महिलाहरुका जुम्ल्याहा बच्चा हुन्छ, दुध पुगेन भने हामीले त्यस्को व्यवस्थापन कसरी गर्न सकिन्छ? भैँसीको दुध खुवाउन हुन्छ कि हुँदैन ?

भैँसीको दुध खुवाउनै हुँदैन। भैँसीको दुधले बच्चालाइ बचाउन सक्दैन,झाडा पखाला लाग्न सक्ने सम्भावना हुन्छ । हामीले बोतलबाट पनि दुध खुवाउन हुँदैन बोतलबाट दुध खुवाउँदा संक्रमण हुन्छ प्रयोग गर्नुहुँदैन। आमाले छ महिनासम्म पुर्ण स्तनपान गराउँदा बच्चालाई दुध नपुग्ने भन्ने हुँदैन आमाको दुध ले नै पुग्छ बच्चालाइ।

आसन, सम्पर्क, पटकको कुरा नमिल्दा, आमाले पोषणयुक्त खानेकुरा नखाँदा मात्र दुध नआउने हो। यसमा विषेश गरी पोषणमा ध्यान दिनुपर्छ र पटक पटक दुध खुवाउनुपर्छ। जुम्ल्याहा भएपनि दुध पटक पटक खुवाइराख्ने र पोषणयुक्त झोलिलो खानेकुरा आमाले खाने गर्दा दुध पुग्छ। 

लक्ष्मी प्रजा, रसुवा :पुर्ण स्तनपान हुनको लागि कति वर्षसम्म बच्चालाई दुध चुसाउन पर्छ ? बच्चाहरु कहिले कम तौल कहिले बढि तौलको जन्मने हुन्छ बच्चा जन्मनु पर्ने नर्मल तौल कति होला ? 

साढे २ केजीको बच्चा नर्मल हुन्छ त्यो भन्दा कम भयो भने कम तौलको हुन्छ । बच्चालाई पुर्ण स्तनपान छ महिनासम्म गराउँन पर्छ। बच्चा जन्मेको छ महिनासम्म पुर्ण स्तनपान गराउने र त्यसपछि थप खानेकुराको साथसाथै २ वर्ष सम्म स्तनपान गराउनु पर्छ। बच्चा कम तौलको जन्मीयो भने तातो गरेर मायाको अंगालोमा राख्ने,पटक पटक स्तनपान गराउने,चिसोबाट बचाउन सक्यो भने उसको तौल पनि बढ्छ र आमाको दुध पनि चुस्छ।  

८. धेरै आमाहरुले कामको व्यस्तता वा अन्य कारणले बच्चालाई तपाइले भन्नु भएजति एका पट्टीको दुध १५ मिनेट र एक दिनमा दिन र रात गरेर १० देखी १२ पटक दुध चुसाउनु हुन्न, यसले गर्दा बच्चालाई के बेफाइदा हुन्छ ?

सहि आसन सहि सम्पर्क र पुर्ण समयसम्म स्तनपान गराएन भने बच्चालाई दुध पुग्दैन दुध नपुगेपछि बच्चालाई कुपोषण हुने, बच्चा दुब्लाउँदै जाने, विभिन्न रोगहरु लाग्ने जस्ता समस्याहरु हुन्छ । पुर्ण रुपमा बच्चालाई समय दिएर दुध खुवाउँदा बच्चा अघाउँछ  र बच्चालाई चाहिने पौष्टिक तत्व पनि बच्चालाई जान्छ। 

९.घरको काम वा बाहिरको कामले हतार भईरहेका बेला पछि दुध खुवाउँछु, अनि राति सुतिरहेको बेलामा किन उठ्नु पर्यो सुतेरै खुवाउँछु वा भोली बिहान खुवाउँछु, वा बच्चा रोएपछिमात्र दुध खुवाउँछु भन्ने गरेको पनि पाइन्छ, यसो गर्नु किन बेठिक हो ?

हामीले राम्रोसँग बच्चालाई स्तनपान गरायौँ, पोषिलो चिज आमाले खायौँ भने राम्रोसँग दुध आउँछ । सहि सम्पर्क र सहि आसन गरेर स्तनपान गरायौँ भने बच्चा एकदम राम्रो हुने, दिमागी क्षमता, तौल बढ्ने, कुनै रोग नलाग्ने हुन्छ। हामीले बच्चा भन्दा ठुलो काम राख्यौँ भने बच्चालाई विभिन्न रोगहरु लगाउन सक्षम हुन्छौँ ।

उमेर अनुसार को तौल बढ्दैन। आमा तनाव मुक्त हुनपर्छ,बच्चा सँग खेल्दै खेल्दै पुर्ण समय स्तनपान गराउनु होला। समय पुग्दैन भनेर बाहिर जाने कामहरुमा लाग्ने नगर्नु होला पुर्ण रुपमा बच्चालाई समय दिनु होला ।

१०. स्तनपान, यसका तरिका, आसन, सम्पर्क र पटक लगायतको बिषयमा आमाहरुले थप कुरा बुझ्न चाहे कहाँ गएर बुझ्ने ? को संग सोध्नेबुझ्ने ?

अहिले सबै स्वास्थ्य संस्थामा यो कुरा सिकाएको छ नजिकको स्वास्थ्य संस्थामा गएर नर्सिङ स्टाफहरुसँग बुझन सक्नु भयो भने उहाँहरुले राम्रोसँग बताउनुहुन्छ। आफनो गाउँको नजिकको स्वास्थ्य संस्थामा जानुहोला र सिक्नुहोला ।

फोन सम्पर्क
सुस्मिता खड्का, सिन्धुपाल्चोक : बच्चालाई दुईवर्ष उता दुध खुवाउन हुन्न र?सुतेर दुध खुवाउन हुन्छ कि हुँदैन ?
 

छ महिनासम्म पुर्ण स्तनपान गराउन पर्छ,त्यसपछि २ वर्ष सम्म स्तनपान सहित अरु थप खानेकुरा पनि खुवाउन पर्छ। सकेसम्म दुई वर्षसम्म आमाको स्तनपान गराउनपर्छ भनेर सिफारीस गरीएको छ । तपाईले बच्चा जन्माउन चाहनुहुन्न ३ वर्षसम्म स्तनपान गराउनु हुन्छ र त्यसको साथसाथै थप खानेकुरा पनि खुवाउनु हुन्छ भने केही समस्या छैन।

सिफारसि गरेको २ वर्ष सम्म स्तनपान गराउन पर्छ किनभने २ वर्ष पछि अर्को बच्चा चाहेको खण्डमा बच्चाको योजना पनि बनाउनु पर्ने हुन्छ। सकेसम्म बच्चालाई उठेर, आसन बनाएर स्तनपान गराउनु होला । सुतेर खुवाउनु हुन्छ भने अलि चनाखो भएर आसन र सम्पर्क कुरालाई ध्यानमा राखेर स्तनपान गराउनु हुन्छ भने केही फरक पर्दैन। नहुने त होइन तर राम्रो सजिलो उठेर नै खुवाउँदा हुन्छ। 

११. अहिलेको  कोभिड १९ को अवस्थामा बच्चालाई स्तनपान गराउने कुरामा आमाले ध्यान दिनुपर्ने कुरा चाहीँ के के हो ?

अहिलेसम्म कोभिड भएको आमाले बच्चालाई दुध खुवाउन हुँदैन भन्ने कुरा छैन । आमालाई कोभिड भयो भने पनि बच्चालाई स्तनपान गराउन सक्नुहुन्छ । हातहरु राम्रोसँग धुने, मास्क लगाउने, यो कुरामा ध्यान दिनु पर्छ । आमा दुध खुवाउनै नसक्ने छ भने बच्चा र आमालाई टाढा राखेर स्तनबाट दुध निचोरेर बच्चालाई खुवाउन सकिन्छ ।

 १२. फेरी एकपल्ट बताइदिनुसन बच्चालाई स्तनपान गराउँदा आसन र सम्पर्क कसरी मिलाउने,आमा कसरी बस्ने, बच्चालाई कसरी राख्ने? 

आमा पलेटी कसेर बस्नुपर्ने हुन्छ । आसनमा बच्चाको गर्धन र शरीर चै सिधा हुनुपर्छ निचोरेर राख्न भएन, बच्चाले अडेस पाएको हुनुपर्यो, बच्चा आमा तिर फर्केको हुनुपर्यो यो भनेको सहि आसन भयो । सम्पर्क गर्दा च्युँडोले स्तनलाइ छोएको हुनुपर्यो, बच्चाले मुख पुरै खोलेको हुनुपर्यो र तल्लो ओठ तल तिर फर्केको हुनुपर्छ।स्तनको तलको कालो भाग भित्र पसेको हुनुपर्छ।

बच्चलाई हेरेर बच्चासँग खेल्दै १० देखि १५ मिनेटसम्म स्तनपान गराउनुपर्छ एकचोटि गराउँदा एउटा स्तन अर्को पटक गराउँदा अर्को स्तन गराउँनपर्छ। यसरी  गरायो भने बच्चाले पुर्णरुपमा दुध खान्छ र स्वस्थ हुन्छ।

१३. अन्त्यमा,बच्चालाई चाहिने मात्रामा स्तनपान गराउन आमालाई परिवारका सदस्यहरुले के कसरी त्यो वाताबरण बनाईदिनुपर्छ वा बनाईदिन सक्नुहुन्छ ?

स्तनपानमा परिवारको पनि एकदम ठुलो भुमिका हुन्छ । घरमा बुहारीले स्तनपान गराइराखेको छ भने सासु श्रिमानको ठूलो भुमिका हुन्छ उहाँहरुले पनि बच्चालाइ स्तनपान गराउन पछ र किन गराउन पर्र्छ भन्ने कुरा बुझ्न पर्छ। बच्चालाई स्तनपान गराउन बुहारीलाई समय उपलब्ध गराउँन पर्छ, बहत्वपुर्ण बच्चा हो परिवारका सदस्यले समय दिनुभयो भने र आमालाई उत्साहित गराउनु भयो भने बच्चाले स्तनपान गर्न सक्छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्