कोरोना प्रभावित अतिविपन्न परिवारले १० हजार पाउन १५ दिनभित्र निवेदन दिनुपर्ने 

सरकारले कोरोना प्रभावित अतिविपन्न परिवारलाई १५ दिनभित्र आफ्नो वडा कार्यालयमा निवेदन दिन अनुरोध गरेको छ । कोरोना प्रभावित पाँच लाख परिवारलाई एक पटक १० हजार रुपैयाँका दरले सहयोग रकम उपलब्ध गराउने निर्णय गरेअनुसार सरकारले १५ दिनभित्र निवेदन दिन भनेको हो ।

अर्थ मन्त्रालयले बिहिबार एक सूचना निकालेर कोरोना महामारी सुरु भएपछि रोजगारी गुमाएको र रोजगारीको अर्को अवसरसमेत नपाएको मजदुर वा कामदारलाई १५ दिनभित्र वडा कार्यालयमा निवेदन दिन अनुरोध गरेको हो। 

खुला सडक, फुटपात वा चौरमा खर्पन, नाङ्लो, डोको आदिमा सामान बेच्ने अति विपन्न व्यवसायी, दैनिक ज्याला मजदुरी गर्ने भरिया, कृषि मजदुर, गोठाला, खेताला, ज्यालादारी श्रमिक, रिक्साचालक, ठेलागाडा मजदुर, सार्वजनिक यातायातका मजदुर, पर्यटक भरिया तथा कोरोना सङ्क्रमणका कारण परिवारको आयाआर्जन गर्ने मुख्य सदस्यको मृत्यु भएर समस्या भएको परिवारले निवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ। 

तर घरका कुनै पनि सदस्य रोजगार छन् वा वैदेशिक रोजगारीमा छन् भने त्यो परिवारले निवेदन दिन पाउने छैनन् । घरका कुनै सदस्यले सरकारले उपलब्ध गराएको कुनै पनि प्रकारको भत्ता, पैतृक सम्पत्तिबाट तत्कालको खर्च आवश्यकता पूरा गर्न सक्ने अवस्था भए तथा प्रधानमन्त्री रोजगार कार्यक्रम वा प्रदेश सरकार वा स्थानीय तहबाट एक पटक राहतको रुपमा नगद लिएको परिवारले भने सरकारले दिने १० हजार रुपैयाँ सहयोग पाउने छैनन्। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्