अनुदानको गहुँको बिउ वडा कार्यालयबाटै गायव

काठमाडौंको शंखरापुर नगरपालिका वडा नम्बर १ को वडा कार्यालयबाटै अनुदानको गहुँको बिउ गायव भएको छ । नगरपालिकाले किसानलाई निःशुल्क वितरणका लागि पठाएको ८ सय किलो बिउमध्ये ४० किलोको एक बोरा स्वर्गद्वारी जातको गहुँको बिउ गायव भएको हो ।

वडा कार्यालयले गत कार्तिक २५ गते किसानहरुका लागि निःशुल्क गहुँको बिउ वितरणको कार्यक्रम राखेको थियो । एक किसान बराबर ३ केजी बिउ वितरण गर्ने भनेर वडा कार्यालयले सूचना प्रकाशन गरेपनि गहुँको बिउ नै गायव भएपछि किसानहरुलाई ७ सय ग्रामका दरले बिउ वितरण गरिएको थियो ।

वडा नम्बर १ नाङ्लेभारेमा रहेको वडा कार्यालयबाटै गहुँको बिउ हराएपछि वडाध्यक्ष श्याममणि ढुङ्गाना र वडा सचिव ध्रुव प्रसाद ढुङ्गाना सहित कार्यालयका कर्मचारीबीच दोषारोपण चलेको स्थानीयले जानकारी दिए । गहुँको बिउ हराएकै साँझ वडा सचिव ढुङ्गाना बिरामी भएर एम्बुलेन्समा काठमाडौंमा केएमसी अस्पतालमा भर्ना भएको स्थानीयको भनाइ छ । अनुदानको गहुँको बिउ गायव भएको विषयमा थप जानकारी लिन खोज्दा वडाध्यक्ष श्याममणि ढुङ्गानाले मोबाइल स्विच अफ गरेको पाइयो भने वडा सचिव ढुङ्गानाको भने फोन उठेन ।

शंखरापुर नगरपालिकाले ५ लाख रुपैयाँको बिउ किनेर नगरपालिकाका ९ वटै वडामा पठाएको नगरपालिकाकी कृषि अधिकृत सीता गुरागाँइले बताइन् । वडा नम्बर १ मा ८ सय केजी,वडा नंबर २ मा ५ सय केजी,वडा नंबर ३ देखि वडा नम्बर ९ सम्म ४ सय केजीका दरले गहुँको बिउ पठाईएको थियो । कुल ४२ सय २० केजी स्वर्गद्वारी र डब्ल्यु के १२ सय ४ जातको गहुँको बिउ वितरण गरिएको उनले बताइन् ।
नगरपालिकाले बिउ वितरणका लागि छुट्याइएको ५ लाख रूपैयाँबाट खुमलटारस्थित नार्कबाट प्रतिकेजी १ सय २० रुपैयाँ तिरेर बिउ खरिद गरिएको र नगरपालिकाले दिएर नपुगेको भन्दै कतिपय वडा कार्यालयले आफ्नै बजेटबाट पनि थप बिउ किनिएको उनको भनाइ छ ।

शंखरापुर नगरपालिकाभित्र ती जातको गहुँको राम्रो उत्पादन हुने भएकोले किसानलाई बिउ जोगाउनका लागि एक किसानलाई ५ केजीका दरले वितरण गर्ने कार्यक्रम बनाइएको थियो । अहिलेसम्म वडा नम्बर ८ बाट मात्र किसानलाई गहुँको बिउ वितरण गरेको भरपाई नगरपालिकामा पठाएको र अन्य वडाबाट भने भरपाई आउन बाँकी रहेको उनको भनाइ छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्