धादिङमा जिल्ला स्तरिय एन्फा लिग सुरु:धुनीबेसी र धादिङ समाजको बिजय सुरुवात

धादिङको गजुरी गाउँपालिका स्थित गलौंदीमा आजदेखी जिल्ला स्तरिय एन्फा लिग फुटबल प्रतियोगिता सुरु भएको छ।धादिङ जिल्ला फुटबल संघ धादिङको  आयोजना तथा बिभिन्न स्थानिय तहको सहयोगमा गलौंदी खेल मैदानमा सुरु प्रतियोगिताको अखिल नेपाल फुटबल संघका केंद्रीय सदस्य पुर्णमान चित्रकारले उद्घाटन गर्नु भएको हो।

फुटबलको उद्घाटन गर्दै चित्रकारले आगामी वर्ष बागमती प्रदेश स्तरीय फुटबल लिग गर्न तयारीमा लाग्न जिल्ला फुटबल संघलाई आग्रह गर्नुभएको छ।यस्तै जिल्ला फुटबल संघ धादिङका अध्यक्ष दिपक खतिवडाले पूर्वाधार निमार्णमा धादिङ धेरै अगाडी बढी सकेको भन्दै आगामी वर्ष एन्फाले तोकेको मापदण्डकै खेल मैदानमा प्रदेश लिग गराउन तयार रहेको बताउनुभएको थियो।

जिल्लाका लिग फुटबल खेल्न छानिएका ११ क्लबहरुको सहभागिता रहेको फुटबल प्रतियोगितामा छानिएका क्लबहरुले प्रदेश स्तरको प्रतियोगितामा सहभागि हुन पाउने जिल्ला फुटबल संघ धादिङका महासचिव रामहरि थापाले बताउनुभयो ।

आज भएको दुई खेलमा धुनीबेसी युवा क्लव र धादिङ समाज धादिङले विजय सुरुवात गरेका छन् ।प्रतियोगिताको पहिलो खेल समूह ए मा रहेको धुनीबेसी युवा क्लव, धार्के र समूह ए कै अरुणोदय युवा क्लव आदमटार बीच भएको खेलमा धुनीबेशी युवा क्लबले अरुणोदय युवा क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको छ ।

त्यस्तै प्रतियोगिताको दोस्रो खेल समूह ए को इन्द्रेणी युवा क्लव, आदमघाट, र धादिङ समाज धादिङबीच भएको खेलमा धादिङ समाज धादिङ ३–१ गोल अन्तरले विजयी भएको छ ।प्रतियोगिताको दोस्रो दिन भोलि चार खेल हुने एन्फा धादिङका महासचिव रामहरि थापाले बताउनुभयो । बिहान ८ बजे गलौंदी युवा समाज, गजुरी र न्यू स्टार युवा समाज, थाक्रे, बिहान १० बजे धादिङ समाज धादिङ र अरुणदय युवा क्लव, आदमटार सिद्धलेक बीच प्रतिस्पर्धा हुने छ ।

मध्यान्ह १२ बजे पञ्चमन्या युवा क्लव एक्लेफाँट, थाक्रे र व्वाईज यूनाईटेड, धादिङबेसी नीलकण्ठ, दिउँसो २ बजे बिद्यार्थी उपकार समाज, धुवाँकोट, नीलकण्ठ र गजुरी सामुदायीक समाज गजुरी बीच हुने महासचिव थापाले बताउनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्