९७४ रेञ्जका सिमकार्ड बिक्री वितरणमा रोक लगाउन निर्देशन

नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई ९७४ रेञ्जका सिमकार्ड बिक्री वितरणमा रोक लगाउन निर्देशन दिएको छ।गत कात्तिक २९ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले अनुमतिबिना ९७४ मा आधारित जिएसएममा आधारित नम्बर बिक्री वितरणमा रोक लगाउन निर्देशन दिएको हो।

टेलिकमले यसअघि सिडिएमएमा प्रयोग हुँदै आएको ९७४ र ९७६ रेञ्जमा आधारित नम्बरलाई जिएसएममा रूपान्तरण गरी सिमकार्ड बिक्री सुरु गरेको थियो। त्यसमध्ये ९७४ मा आधारित भएर जिएसएम सेवा दिने विषयमा प्राधिकरणबाट स्वीकृति नलिएकाले तत्कालै उक्त कार्य बन्द गर्न निर्देशन दिइएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिनुभयो।

सञ्चालक समितिले टेलिकमलाई पुनःनम्बर परिवर्तन गर्दा ग्राहकमा पर्न जाने असरलाई मध्यनजर गर्दै ९७४ बाट हाल वितरण भइसकेको नम्बरको अलावा थप नम्बर वितरण नगर्न निर्देशन दिएको हो।

नम्बर प्रयोगकर्तालाई वितरण भएपश्चात् उक्त नम्बर दीर्घकालीनरूपमा प्रयोग हुने भएकाले अस्थायीरूपमा प्रदान गरिएको नम्बरिङ रेञ्ज ९७६ स्थायीरूपमा प्रदान हुनेछ। सिडिएमए प्रविधि बन्द गर्ने तयारीमा रहेको टेलिमकले गत साउनदेखि सिडिएमएबाट जिएसएममा रूपान्तरण हुन ग्राहकलाई प्रोत्साहित गरिरहेको छ। नेपामा हाल करिब तीन लाख २० हजार सिडिएमए प्रयोगकर्ता छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्