यसवर्ष धादिङमा धान उत्पादनमा बृद्धि:करिब ५५ हजार मेट्रिकटन उत्पादन

धादिङमा यस वर्ष करिब ५५ हजार मेट्रिकटन धान उत्पादन भएको छ। गत वर्षको तुलनामा यस वर्ष जिल्लामा धान उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र धादिङले जनाएको छ।

गतवर्ष ५१ हजार ६४७ दशमलव ४ मेट्रिकटन उत्पादन भएकोमा यस वर्ष ५४ हजार ९१० मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्र धादिङका कृषि प्रसार अधिकृत कमलराज शर्माले जानकारी दिनुभयो।यस वर्ष तिन हजार २६२ मेट्रिक टनले उत्पादन बढेको शर्माले बताउनुभयो। जिल्लामा गत वर्ष ३.९५ प्रतिहेक्टर उत्पादकत्व रहेको थियो भने यस वर्ष ४.०४ प्रतिहेक्टर उत्पादकत्व रहेको छ।

जिल्लामा उन्नत बिउबीजन, आधुनिक कृषि प्रणाली, सिँचाइ सुविधा तथा कृषकमा कृषिसम्बन्धी ज्ञान लगाएतका कारण धान उत्पादनमा बृद्धि भएको शर्माले बताउनुभयो।जिल्लामा कुल १३ हजार ६०० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको उहाँको भनाइ छ।

जसमा २ हजार २८८ हेक्टर क्षेत्रफलमा चैते धान खेती हुने गरेको छ भने ११ हजार ३१२ हेक्टर क्षेत्रफलमा बर्षे धान खेती हुने गरेको छ।यसबर्ष असोज र कात्तिक महिनाको बेमौसमी वर्षाले जिल्लामा ४७५ मेट्रिकटन धानमा क्षति पु¥याएको कृषि प्रसार अधिकृत शर्माले बताउनुभयो
जिल्लामा बिशेष गरी स्थानिय जातको मनभोग, उन्नत जातको सावित्री, मकवानपुरे, चैते–२ र हाईव्रिडको बिभिन्न जातका धान लगाइन्छ।

जिल्लाको १३ वटै स्थानीय तहमा धान खेती हुने गरेको छ। कृषि प्रसार अधिकृत शर्माका अनुसार सबैभन्दा धेरै नीलकण्ठ नगरपालिका र ज्वालामुखी गाउँपालिकामा धान खेती हुने गरेको छ भने सबैभन्दा कम उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका र खनियाँबास गाउँपालिकामा हुने गरेको छ।
(तस्विरःसिद्धलेक गाउँपालिका स्थित बुङचुङमा थ्रेसर मेसिनबाट धान झार्दै स्थानीय किसानहरु)

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्