धादिङमा तामझाम र बाजागाजा सहित माईत झरिन त्रिपुरासुन्दरी भगवतीमाई

धादिङ,१२ मंसिर । त्रिपुरासुन्दरी भगवतीमाईको जात्रा बिविध सास्कृतिक कार्यक्रम सहित सम्पन्न भएको छ । त्रिपुरासुन्दरी गाउँपालिका– ४ सल्यानकोट डांडाको मन्दिरबाट भगवतीको मुर्तिलाई बाकसभित्र राखी पिठ्युमा बोकेर त्रिपुरासुन्दरी गाउँपालिका–६ माईथानबेसीको मन्दिरमा माइत झारेसँगै यो वर्षको जात्रा सकिएको हो ।

अघिअघि पञ्चेबाजासँगै नाङ्गो खुँडा, खुकुरी बोकेका युवा त्यसपछि दियो, कलश, शङ्ख, घण्ट सहितका नरनारी, प्रहरी र भक्तजनले बनाएको हाते साङ्लोको घेराभित्र लामो कपाल मात्र देखिने गरी सयौँ मानिसहरु दायाँबायाँ बसेर पूजापाठ र अबीर जात्रा गर्दै त्रिपुरा सुन्दरी भगवतीको प्रतिमूर्तिलाई माइथानबेंसी सारिएको छ ।
एक वर्षभित्र विभिन्न ३ ओटा मन्दिरमा लगेर राख्ने र त्यही पुजाआजा गर्ने अनौठो र रोचक परम्परा अनुसार सल्यानकोटमा रहेको २ वटा मन्दिर मध्ये घटस्थापना देखि कोजाग्रत पूर्णिमासम्म भगवतीलाई पूर्वपट्टिको मन्दिरमा राखेर पुजाआजा गरिने चलन छ ।

रानामगर, तिमिल्सिना र सापकोटा थरका पुजारीहरुले त्रिपुरा सुन्दरी भगवतीको मूर्तिलाई आफ्नो पिठ्युमा बोकेका मन्दिरमा सारेका थिए ।
धादिङबेशीबाट चालिस किलोमिटर उत्तरतर्फ पर्ने यो मन्दिरमा जात्रा हेर्नका लागि छिमेकी जिल्ला चितवन,नुवाकोट, काठमाडौँ लगायतका स्थानहरुबाट उल्लेखनिय दर्शक तथा भक्तजनहरुको उपस्थिति रहेको थियो ।
मेलाको अवसरमा आयोजित सांस्कृतिक कार्यक्रममा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको उपस्थितिले मेलालाई थप रौनक बनाएको थियो ।

सोहि अवसरमा आयोजित औपचारिक कार्यक्रमलाई सम्बोधन गर्नुहुदै त्रिपुरासुन्दरी गाउपालिकाका अध्यक्ष राजु उप्रेतीले देशकै प्रतिष्ठित मन्दिर बनाउन आफु लागि पर्ने र सवै पक्षले सहयोग गरिदिन आग्रह गर्नुभएको छ ।
त्रिपुरा सुन्दरी माई मेलाकै अवसरमा आयोजित रक्तदान कार्यक्रममा ९ जना महिला र २६ जना पुरुष गरी ३५ जनास्वयमसेवी रक्तदाताहरुले रक्तदान गरेका थिए ।
त्यसै गरी २१५ जनाले मेलाकै अवसरमा आयोजित स्वास्थ्य शिविरमा स्वास्थ्य परिक्षण गराएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्