माघको पहिलो हप्तादेखि अग्रपङ्क्तिमा काम गर्नेलाई कोरोना खोपको तेस्रो मात्रा दिइने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अग्रपङ्क्तिमा काम गर्ने र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको थप एक अतिरिक्त (तेस्रो) मात्रा खोप दिने भएको छ ।

मन्त्रालयका सचिव डा रोशन पोखरेलले माघको पहिलो हप्तादेखि अग्रपङ्क्तिमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई र माघको दोस्रो हप्तादेखि रोग प्रतिरोधात्मक क्षमता कम भएका तथा ६० वर्षमाथिका सबैलाई अतिरिक्त थप एक मात्रा खोप लगाउने जानकारी दिनुभयो।

उहाँले सम्भावित कोरोना भाइरसको तेस्रो लहरलाई दृष्टिगत गर्दै कोरोना भाइरसको थप एक मात्रा (तेस्रो मात्रा) दिन लागिएको बताउनुभयो ।
नेपालमा अहिले कूल परीक्षण गराएकामध्ये कोरोना सङ्क्रमण ८ दशमलव ४९ प्रतिशतमा देखिएको छ । हिजो मात्र १४ हजार ९ सय ७१ जनामा परीक्षण गर्दा ९ सय ६८ जनामा सङ्क्रमण देखिएको थियो ।

कोरोना खोप सल्लाहकार समितिको सिफारिसमा मन्त्रालयले थप एक मात्रा खोप दिन लागेको हो । हिजो मात्र २४ जनामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट देखिएको थियो ।

यही पुस २० गते एक दिन मात्र गम्भीर प्रकृतिका रोग लागेका बिरामी तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई अतिरिक्त मात्रा खोप लगाएर स्थगित गरिएको थियो ।

मन्त्रालयले सबै नागरिकलाई कोरोना विरुद्धको पूरा मात्रा खोप लगाएपछि मात्र अतिरिक्त खोप दिने निर्णय गरेपछि एक दिन लगाएर स्थगित गरेको थियो ।मन्त्रालयले राष्ट्रिय खोप अभियान द्रुत गतिमा सञ्चालन गरेर यही पुस मसान्तभित्रमा लक्षित सबैलाई खोप लगाउने तयारी गरेको छ।–रासस

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्