एसईई खारेज हुने हल्लाको पछि नलागी तयारी गर्न बोर्डको आग्रह

माध्यमिक शिक्षा परीक्षा (एसईई) कसरी सञ्चालन गर्ने भन्ने अझै टुङ्गो लागेको छैन।संसदीय समितिले एसईई खारेज गर्न निर्देशन दिएको छ भने राष्ट्रिय परीक्षा बोर्डले निर्णय नगर्दा विद्यार्थी र अभिभावक अन्योलमा परेका छन् ।

बोर्डका अध्यक्ष महाश्रम शर्मा भने एसईई खारेज गर्ने नभई सञ्चालनको जिम्मेवारी प्रदेशलाई दिन खोजिएको बताउनुहुन्छ । प्रदेश मार्फत एसईई सञ्चालनको लागि आन्तरिक छलफल भैरहेकोले एसईई खारेज हुने हल्लाको पछि नलाग्न उहाँले आग्रह गर्नुभयो ।

प्रदेशबाट सञ्चालन गर्दा परीक्षाको खाका कस्तो हुने लगायतका विषयमा अहिले छलफल भैरहेको र केही समयमै टुङ्गोमा पुग्ने उहाँले बताउनुभयो ।

शैक्षिक क्यालेण्डर अनुसार चैत महिनामै हुनुपर्ने एसईईको बारेमा अझै निर्णय नहुनु र खारेज हुने हल्ला चल्नुले विद्यार्थीमा अन्योल छ । अध्यक्ष शर्माले एसईई खारेज नहुने भएकोले ढुक्क भएर तयारी गर्न अनुरोध गर्नुभयो ।

राष्ट्रिय शिक्षा नीति, २०७६ मा ‘आधारभूत तह अर्थात कक्षा ८ को अन्त्यमा हुने परीक्षा पालिका, कक्षा १० को अन्त्यमा हुने परीक्षा प्रदेश र कक्षा १२ को अन्त्यमा हुने परिक्षाको सञ्चालन, व्यवस्थापन र प्रमाणीकरण संघीय सरकारले गर्ने व्यवस्था मिलाइने भनिएको छ ।–उज्यालो

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्