सेन्सर गरेर मात्र नेपालमा ‘राधे’ रिलिज गर्न मन्त्रालयको निर्देशन

बिहीवारबाट भारतसँगै संसारका ४० बढी देशमा सिनेमा हल र ओटीटी प्लेटफर्ममा एकसाथ रिलिज भएको सुपरस्टार सलमान खान अभिनीत फिल्म ‘राधे’ लाई नेपालमा सेन्सर गरेर मात्र रिलिज गर्न सञ्चार मन्त्रालयले निर्देशन दिएको छ । सेन्सर विनै नेपालका केबल टिभी र ओटीटीमा फिल्म रिलिज हुन लागेको खबर सार्वजनिक भएपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

मन्त्रालयको निर्देशनपछि सेन्सर नहुँदासम्म फिल्मको नेपाल रिलिज रोकिएको छ । यो फिल्मको नेपाल प्रदर्शन अधिकार गोपिकृष्ण मूभिजअन्तर्गतको ए(एठ् कम्पनीले खरिद गरेको हो । नेपालका सिनेमा हलमा फिल्म प्रदर्शन गर्न अनिवार्य रुपमा सेन्सर गर्नुपर्ने हुन्छ । तर, डिजिटल प्लेटफर्म सूचना तथा सञ्चार मन्त्रालयमा दर्ता हुने भएकाले यसको नियमन पनि मन्त्रालयले नै गर्छ ।

सेन्सर नगरी फिल्म रिलिज गरे कानुनी कारवाही गरिने मन्त्रालयले जनाएको छ । चलचित्र विकास बोर्डले आगामी आर्थिक ऐनमा ओटीटी प्लेटफर्मलाई पनि फिल्म सेन्सर र करको दायरामा ल्याउन अर्थ मन्त्रालयलाई सिफारिस गरेको छ । हिन्दी फिल्मबाट बोर्डले १५ प्रतिशत विकास शुल्क उठाउँदै आएको भए पनि ओटीटीमा रिलिज हुने हिन्दी फिल्मबाट यो रकम उठ्न सकेको छैन ।

प्रभु देवा निर्देशित फिल्म ‘राधे’ लाई नेपाली दर्शकले ‘पे फर भ्यू’ मार्फत् डिसहोम, नेट टिभी, सुविस, म्याक्स टिभी लगायतका च्यानलमा हेर्न पाउनेछन् । फिल्म हेर्न नेट टिभीमा २ सय ९९ रुपैयाँ तिर्नुपर्नेछ भने डिसहोम र सुविसुले २ सय ९९ देखि ३ सय २५ सम्म शुल्क राखेका छन् । बुधवार सलमानले एक भिडियो सन्देशमार्फत् नेपाली दर्शकलाई फिल्म हेर्न आग्रह समेत गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्