रूस-युक्रेन संकटबारे ७ प्रश्न

काठमाडौँ,१३ माघ ।
एजेन्सी

केही समययता रूस र युक्रेनबीचको बढ्दो तनावले विश्व आक्रान्त बनेको छ। यदि रूस र युक्रेनबीच युद्ध भएको खण्डमा यसको क्षति विश्वले ब्यहोर्ने आँकलन गरिएको छ।

पश्चिमा शक्ति विशेष गरेर अमेरिका र बेलायतले रूसी सेना युक्रेनमा आक्रमणको तयारीमा रहेको जनाएका छन्।

रूसले युक्रेनसँगको सीमामा एक लाखभन्दा बढी सैनिक तैनाथ गरेको छ। तैपनि रूसले युक्रेनमा आक्रमण गर्ने कुनै योजना नभएको बताएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा सैन्य कारबाही हुने चिन्ता व्यक्त गरिसकेका छन्। अमेरिकाले युक्रेनको सहयोगार्थ हतियारको पहिलो खेप युक्रेनको राजधानी किभमा पुर्‍याएको छ।

ती हतियार सीमामा तैनाथ सैनिकहरूका लागि राजधानी पुर्‍याइएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। रूसले भने बेलायत र अमेरिकाले लगाएको आरोपलाई झूटो र मिथ्या भएको बताएको छ।

रूसले युक्रेनलाई लिएर पश्चिमी देशसामु केही शर्त राखेको छ। युक्रेनलाई कहिले पनि नाटोको सदस्य बन्न दिन नहुने र नेटो गठबन्धनले पूर्वी युरोपमा हुने सबैखाले सैन्य गतिविधि त्याग्नुपर्नेमा रूसको जोड छ।

यस्तो अवस्थामा के हुनसक्छ? जसले युरोपको सम्पूर्ण सुरक्षा व्यवस्थालाई नै खतरामा पार्छ। यहाँ हामीले सात प्रश्नको जवाफका साथ रूस र युक्रेनबीचको वर्तमान तनावबारे व्याख्या गरेका छौँ।

युक्रेन-रूसबीच बढ्दो तनावका सात प्रश्न

रूसी धम्कीको कारण

युक्रेनी सीमामा १ लाखभन्दा बढी सैनिक परिचालन गरे पनि रूसले आक्रमण गर्ने कुनै योजना नभएको बताउँदै आएको छ। रूसले लामो समयदेखि नेटोमा युक्रेनको संलग्नताको विरोध गर्दै आएको छ।

युक्रेनको सीमा पश्चिममा युरोपेली देशहरू र पूर्वमा रूससँग जोडिन्छ। युक्रेनको रूससँग गहिरो सामाजिक र सांस्कृतिक सम्बन्ध छ।

क्रिमिया रूसमा विलय भएको थियो। त्यसै वेला रूसले पूर्वी युक्रेनको ठूलो भाग कब्जा गर्ने विद्रोहीलाई समर्थन गरेको थियो।

त्यसयता रूस पक्षधर विद्रोही र युक्रेनी सेनाबीचको भिडन्तमा १४ हजारभन्दा बढी मानिस मारिएका छन्।

आक्रमणको खतरा कति ठूलो छ?

रूसी सेना प्रमुख भ्यालेरी गेरासिमोभले आक्रमणको योजनाबारे आएको रिपोर्टलाई ‘झूटा’ भनेका छन्। यद्यपि दुई पक्षबीच तनाव उत्कर्षमा छ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा शक्तिहरूले आक्रामक व्यवहार जारी राखे ‘प्रतिशोधात्मक कदम’ चाल्ने चेतावनी दिएका छन्।

नेटोका महासचिवले युक्रेनमा द्वन्द्वको खतरा वास्तविक भएको चेतावनी दिएका छन्। अमेरिकी राष्ट्रपति बाइडेनले पनि रूस अगाडि बढ्न सक्ने आशंका व्यक्त गरेका छन्।

अमेरिकाले युक्रेनी सीमामा रूसी सेना जम्मा गर्ने ‘छोटो समय’ का लागि कथित योजना बारे सचेत रहेको बताएको छ।

हाल युद्धविराम चलेको भए पनि  पृथकतावादी र युक्रेनी सेनाबीच केही वर्षदेखि द्वन्द्व चलिरहेको छ।

युक्रेनको सिमानामा १ लाखभन्दा बढी रूसी सैनिक जम्मा हुनु चिन्ताको विषय हो। रूसले सैन्य उपस्थितिबारे कुनै स्पष्टीकरण नदिएको अमेरिकाले जनाएको छ ।

योसँगै अब रूसी सेना पनि अभ्यासका लागि बेलारूसतर्फ गइरहेको छ।

रूसका उपविदेशमन्त्री सर्गेई रायब्कोभले हालको अवस्थालाई सन् १९६२ को क्युबाको क्षेप्यास्त्र संकटसँग तुलना गरेका छन्।

त्यस अवधिमा अमेरिका र सोभियत संघ आणविक द्वन्द्वको नजिक पुगेको थियो। पश्चिमी गुप्तचर निकायका अनुसार २०२२ को प्रारम्भमा रूसले युक्रेनमा आक्रमण गर्ने सम्भावना छ।

नेटोबाट रूसको अपेक्षा?

रूसले नेटोसँगको आफ्नो सम्बन्धलाई नयाँ बनाउने अडान लिएको छ। रूसका उपविदेशमन्त्री सर्गेई रायब्कोभले भने, ‘युक्रेन कहिल्यै पनि नेटोको सदस्य बन्नु हुन्न भन्ने निर्णय हाम्रा लागि निकै महत्त्वपूर्ण छ।’

रूसले नेटोका सदस्य देशहरूले लगातार युक्रेनलाई हतियार आपूर्ति गरिरहेको र अमेरिकाले दुई देशबीच तनावपूर्ण वातावरण बनाइरहेको दाबी गरेको छ।  राष्ट्रपति भ्लादिमिर पुटिनले भने, ‘रूस पछि हट्नेछैन।’

वास्तवमा रूस सन् १९९७ अघि जस्तै नेटोका सैनिक सिमानाबाट फर्केको चाहन्छ। रूसले नेटो गठबन्धनले पूर्वी यूरोपमा आफ्नो सैन्य विस्तार र गतिविधि रोक्नुपर्ने माग गरेको छ।

यसको मतलब नेटोले पोल्याण्ड र इस्टोनिया, लात्भिया र लिथुआनियाबाट आफ्ना सैनिक हटाउनुपर्छ। रूसले आफ्नो देशको इलाकाबाहिर रहेका आणविक हतियारप्रयोगमा प्रतिबन्ध लगाउन पनि अमेरिकासँग सम्झौता गर्ने प्रस्ताव गरेको छ।​
 

युक्रेनसँग रूसको माग के छ?

सन् २०१४ मा  क्रिमिया रूसमा विलय भयो। युक्रेन कुनै वेला सोभियत संघको भाग थियो।

भ्लादिमिर पुटिन सन् १९९१ मा सोभियत संघको पतनलाई ‘रूसको ऐतिहासिक विघटन’को रूपमा सम्झन्छन्।

गत वर्ष एउटा लामो लेखमा उनले रूसी र युक्रेनीहरूको ‘समान राष्ट्रियता’ भएको चर्चा गरेका थिए। विशेषज्ञहरूको विचारमा यो भनाइले पुटिनको सोच स्पष्ट हुन्छ। त्यस लेखमा पुटिनले युक्रेनका वर्तमान नेताले ‘रूसविरोधी परियोजना’ चलाइरहेको पनि बताए।

युक्रेनले ​पूर्वी युक्रेनमा चलिरहेको द्वन्द्व निरस्त गर्न सन् २०१५ भएको मिन्स्क शान्ति सम्झौता पूरा नगरेको भन्दै रूस रिसाएको छ।​
 

रूसको सैन्य कारबाही रोक्न सकिन्छ?

रूसी राष्ट्रपति पुटिनले जो बाडेनसँग उच्चस्तरीय वार्ता जारी राख्नुपर्ने बताएका छन्। रूसी अधिकारीहरुले आफ्नो प्रमुख मागलाई अस्वीकार गर्नु खतरनाक हुने चेतावनी पनि दिएका छन्।

अब प्रश्न छ, रूस कति टाढा जानेछ? अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा गरिने आक्रमणले रूसका लागि गम्भीर परिणाम ल्याउने चेतावनी दिएका छन्।

अमेरिकी राष्ट्रपतिको कार्यालय  ह्वाइट हाउसले रूस र युक्रेनबीचको सीमामा हुने कुनै पनि कदमलाई आक्रमणको रूपमा लिइने चेतावनी दिएको थियो।

यो कुरालाई ध्यानमा राखी रूसले पनि साइबर आक्रमण र अर्धसैनिक परिचालन जस्ता कदम चाल्नेछ।

रूसले युक्रेनमा विद्रोह भइरहेका क्षेत्रमा ५ लाख पासपोर्ट वितरण गरेको आरोप पनि लगाइएको छ। यदि यसको अभिप्राय पूरा नभए आफ्ना नागरिकहरूको सुरक्षा गर्ने निहुँमा रूसले कुनै कदम उठाउने पश्चिमा देशको आरोप छ।

रूसको एक मात्र लक्ष्य नेटोलाई आफ्नो छिमेकबाट हटाउन बाध्य पार्नु हो। ऊ यो कार्यमा सफल हुन सकेको छैन। नेटोले भविष्यमा आफूलाई अप्ठेरो पार्ने कुनै प्रयास हुन नहुनेमा रूस विश्वस्त हुन चाहन्छ।

अमेरिकी उपमन्त्री वेन्डी शेर्मनले भने, ‘हामी कसैलाई पनि नेटोको ‘ओपन डोर पोलिसी’ मा धकेल्न दिने छैनौँ।”

अर्कोतर्फ युक्रेनले नेटोमा सामेल हुन स्पष्ट समय सीमा खोज्दै छ। नेटोका सदस्य नभएका स्वीडेन र फिनल्याण्डले पनि नेटोसँगको सम्बन्ध कम गर्नुपर्ने रूसको प्रयासलाई अस्वीकार गरेका छन्। फिनल्याण्डका प्रधानमन्त्रीले भने, ‘हामी यो तरिका स्वीकार गर्दैनौं।’

पश्चिमा शक्तिले युक्रेनलाई कुन हदसम्म समर्थन गर्लान्?

अमेरिकाले युक्रेनको ‘सार्वभौमिकता’ रक्षा गर्ने विषयमा सहयोग गर्ने प्रतिबद्ध भएको बताएको छ। अमेरिकाले युक्रेनलाई हतियार प्रदान गरिरहेको छ।

तनाव कम गर्ने काममा अमेरिकाको मुख्य हतियार भनेकै ‘प्रतिबन्ध’ र ‘सैन्य सहायता’ हो।

अमेरिकी राष्ट्रपति बाडेनले रूसले युक्रेनमाथि आक्रमण गरेमा यसअघि कहिल्यै नदेखिएका वा नसुनेका प्रतिबन्ध लागु गर्ने चेतावनी दिएको छ। त्यस्तो प्रतिबन्ध के हुन सक्छ? भन्ने उसले खुलाएको छैन। 

रूसका लागि सबैभन्दा ठूलो आर्थिक प्रहार भनेको अन्तरराष्ट्रिय स्विफ्ट भुक्तानी प्रणालीबाट रूसको बैंकिङ प्रणाली बन्द गर्नु हुन सक्छ। रूसमाथि हुने अर्को हस्तक्षेप भनेको जर्मनी-रूसको नोर्ड स्ट्रीम २ ग्यास पाइपलाइनको निर्माण रोक्नु हुन सक्छ।

यद्यपि जर्मनीले यसलाई अनुमोदन गर्ने विचार गरिरहेको छ। जर्मन विदेशमन्त्री अन्नालेना बरबोकले रूसले कुनै सैन्य कारबाही गरेमा पाइपलाइनमा काम सुरु नहुने स्पष्ट पारेकी छन्।

अमेरिकाले रूसी प्रत्यक्ष लगानी कोष वा रूबललाई विदेशी मुद्रामा परिणत गर्ने बैंकहरूलाई प्रतिबन्ध लगाउने कदम पनि अपनाउने संकेत देखिएको छ।

पश्चिमा शक्ति मिलेर कुनै कदम चाल्लान्?

अमेरिकाले आफ्ना सहयोगी देशहरूसँग निकट रहेर काम गर्न प्रतिबद्ध रहेको बताएको छ तर अमेरिका र युरोपेली मुलुकहरूबीच भने फरक मत रहेको छ।

युरोपेली नेताहरूले रूससँगको विवादमा अमेरिकाले मात्रै निर्णय गर्न नसक्ने बताएका छन्। फ्रान्सले युरोपेली शक्तिहरू नेटोसँग मिल्नुपर्ने र त्यसपछि रूससँग कुरा गर्नुपर्ने भन्ने प्रस्ताव अघि सारेको छ।

युक्रेनका राष्ट्रपति यो संकटको समाधान खोज्न अन्तरराष्ट्रिय सम्मेलन आयोजना गर्दै छन्। जसमा रूसका साथसाथै फ्रान्स र जर्मनी पनि समावेश हुनेछन्। यी चार देशका नेताहरूले नोर्मान्डी क्वार्टेट नामक नियमित बैठक गर्दै आएका छन्।

स्रोत : बिबिसी

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्