प्रणय दिवसको उपहार

एकदिन मलाई 
गुलाफको लाली उपहारमा आयो 
खुसीले मन बग्दै गरेको गंगा र उड्दै गरेको चंगाझैं भयो
उपहारमा आएको गुलाफी रंगले मुस्कान भरेँ
मुस्कानी अधर लिएर बगैंचामा पुग्दा
म फूल भएँ 
फूलहरू भने आफ्नो लाली रंग चोरिएको 
बिर्सिएर मलाई हेरेर मुस्कुराईरहेका थिए। 

फेरि अर्को दिन
प्रणय दिवसको साइत पारेर 
गुलाफको फूल उपहारमा आयो
मन गदगद भयो
फूल उपहारसँगै 
मलाई प्रेमिल आलिंगनमा कसेर 
चुम्बनका वर्षाहरू भए
कतै निधारमा, कतै गालाहरूमा, 
कतै ओँठमा, अंगअंगमा 
प्रेम स्पर्शले म सिमल भुवाझैँ उडेँ
स्वप्निल उत्सर्गले म बतासझै बहेँ
र फूलहरूसँग खुसी बाँड्न 
फूलको बगैचामा पुगें । 

म फूलबारीमा पुग्दा
फूलहरूको क्रुद्ध शोकसभा भईरहेको थियो
हराएको फूलको खोजिमा र
चुँडाएर हत्या गरेको आवेशमा
फूलहरूमा कोलाहल थियो
गुलाफका हाँगा, पात, जरा
आक्रोशित थिए
उपहारमा आएको फूलको 
ताज पहिरिएर जाँदा
म माथि आक्रमणमा उत्रिए उनीहरू
म विवश मन लिएर उभिई रहेँ
फूललाई रुवाएर पाएको उपहारले
मलाई बेस्सरी बिझायो । 

प्राप्तिको निम्ति 
एउटा फूलको प्रेम उजाडेर पाएको
उसको प्रेम उपहार भन्दा
जीवनको एक हिस्सा हराउँदा 
खोज्दै र कोलाहल गर्दै
परेली रुझाउने, मन बिझाउने फूलको वेदनामा
फूलहरूकै पक्षमा उभिन मन छ मलाई । 

प्रेमिल मनहरूमा प्रणय दिवसको शुभकामना ! 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्