समन्वय कप फुटबल प्रतियोगिताको उपाधी नीलकण्ठ नगरपालिकालाई

धादिङ,२५ फागुन ।
अन्तरपालिका स्तरीय समन्वय कप फुटबल प्रतियोगिताको उपाधी नीलकण्ठ नगरपालिकाले जितेको छ । मंगलबार धादिङको नीलकण्ठ नगरपालिका–१ खाल्टे पात्लेमा भएको फाइनल खेलमा ज्वालामुखी गाउँपालिकालाई ४–२ गोल अन्तरले पराजित गर्दै नीलकण्ठ नगरपालिकाले उपाधी जितेको हो । ज्वालामुखी विरुद्ध नीलकण्ठ नगरपालिकाका विपिन कडेलले ३ गोल र एन्जल तामाङले १ गोल गरेका थिए । यस्तै खेलको  पहिलो हापमा ज्वालामुखीका विरेन थापा मगर र सुमन थापा मगरले १–१ गोल गरेका थिए । 

उपाधीसँगै नीलकण्ठ नगरपालिकाले नगद एक लाख सहित ट्रफी र प्रमाण पत्र हात पारेको छ । उपविजेता भएको ज्वालामुखी गाउँपालिकाले भने नगद ५० हजार हात पारेको छ । यस्तै सान्तवना भएको त्रिपुरासुन्दरी गाउँपालिका र सिद्धलेक गाउँपालिकालाई भने समान नगद १५–१५ हजार प्रदान गरिएको आयोजकले जनाएको छ ।

जिल्ला समन्वय समिति धादिङको आयोजना तथा स्थानीय बुद्ध भुमी समाजको व्यवस्थापनमा शुक्रबारदेखी सुरु भएको फुटबल प्रतियोगितामा जिल्लाको १३ वटा पालिका मध्ये गंगाजमुना गाउँपालिका बाहेक १२ वटा पालिकाका फुटबल टिमले सहभागिता जनाएका थिए । शुक्रबारदेखी सुरु भएको फुटबल प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले गर्नुभएको थियो ।

जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालको सभापतित्वमा भएको प्रतियोगिता समापन कार्यक्रममा अखिल नेपाल फुटबल संघका केन्द्रिय अध्यक्ष कर्मा छिरिङ सेर्पाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गाना, ज्वालामुखी गाउँपालिकाका अध्यक्ष बिनोदराज तिमल्सेना, वडाध्यक्षहरु, जनप्रतिनिधि, जिल्ला फुटबल संघ धादिङका अध्यक्ष दिपक खतिवडा लगाएतको आतिथ्य रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्