धादिङमा २५४ जना डेँगु संक्रमित : सतर्कता अपनाउन स्वास्थ्य कार्यालयको अनुरोध

धादिङ,३० भाद्र ।
धादिङमा डेँगु संक्रमण तिव्र रुपमा फैलिएको छ । जिल्लामा चालु आर्थिक वर्षको साउन यता भाद्र २९ गतेसम्म २ सय ५४ जना डेँगु रोगका बिरामीहरु फेला परेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । कार्यालयले बिहिबार विज्ञप्ति जारी गर्दै संक्रमण तिव्र रुपमा फैलिएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ।

कार्यालयले डेँगु रोगको नियन्त्रण तथा रोकथामको लागि सरकारको निर्णय अनुसार “राष्ट्रिय अभियान” संचालन गर्न सबै नागरिक, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, समाजसेवी, शिक्षक, विद्यार्थी, कर्मचारी, महिला स्वास्थ्य स्वंयमसेविका, पत्रकार एंव सबै सरकारी, गैर सरकारी तथा निजी संस्था तथा निकायहरुलाई अनुरोध गरेको छ।

संक्रमण नियन्त्रणको लागि प्रत्येक शनिबार बिहान १० बजे १० मिनेट छुट्याई घर तथा कार्यालय भित्र र बाहिर लामखुट्टेले फुल पार्ने ठाउँहरु खोजौँ र नष्ट गरौँ भन्ने नारा सहित राष्ट्रिय अभियान संचालन गर्न तथा सचेतना अपनाउन स्वास्थ्य कार्यालय धादिङले आग्रह गरेको छ।

नेपालमा ११ हजारभन्दा बढीमा डेंगुको संक्रमण पुष्टि भएको छ । सबैभन्दा बढी डेंगु संक्रमित बागमती प्रदेशमा रहेका छन् । संक्रमणका कारण केही संक्रमितको मृत्यु भएको छ भने जटिल बिरामीहरु अस्पतालमा उपाचररत रहेका छन् । धादिङमा दैनिक संक्रमणका बिरामीको सङख्यामा वृद्धि हुँदै गएको छ।

लक्षण देखापरेका बिरामीमध्ये परीक्षण गर्दा दैनिक १० भन्दा बढीलाई डेङ्गु पुष्टि हुने गरेको र संक्रमितमध्ये पाँचभन्दा बढी बिरामी अस्पताल भर्ना भइरहेको अस्पतालका सूचना अधिकारी विक्रम विकले जानकारी दिनुभयो । धादिङमा हाल ३ स्थानबाट डेङ्गुको परिक्षण हुदैँ आएको स्वास्थ्य कार्यालय धादिङका बरिष्ठ जनस्वास्थ्य प्रशासक सागर प्रसाद घिमिरेले बताउनुभयो ।

धादिङ अस्पताल, सल्यान्टार प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी प्राथमिक स्वास्थ्य केन्द्रबाट परिक्षण हुदैँ आएको छ ।परिक्षण गरिएका मध्ये धेरै केश नीलकण्ठ नगरपालिकामा भेटिएको घिमिरेले बताउनुभयो ।

डेंगु एडिस (एजिप्टाइ) जातिका पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरो हो। ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता डेंगुका शुरुवाती लक्षणहरु हुन् । डेंगु रोग लाग्न नदिन सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु हो ।

प्रायः दिनको समय, विशेष गरी बिहान र बेलुकाको समयमा सक्रीय रहने एडिज जातको लामखुट्टेको टोकाईबाट डेंगु रोग लाग्ने हुनाले, डेंगु संक्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्न र कार्यालय समयमा पूरा बाहुला भएको पोसाक अनिवार्य लगाउन स्वास्थ्य कार्यालयले निर्देशन दिएको छ ।

डेँगु रोगको रोकथामको लागि गर्नै पर्ने क्रियाकलापहरु :
१.गमला, फुलदानी, खाली बट्टा, अलकत्रा वा मटीतेलका खाली ड्रमहरु, गाडीका काम नलाग्ने टायर आदिमा पानी जम्न नदिऔँ ।
२.पानीको ट्याङकीलाई लामखुटे प्रवेश गर्न नसक्ने गरी ढाकेर राखौँ ।
३.पुरा बाहुला भएको शरीर पुरै ढाक्ने कपडा लागाऔँ ।
४.दिउँसो वा राति सुत्दा झुल प्रयोग गरौ साथै साना केटाकेटीहरुलाई जुनसुकै समयमा पनि झुल भित्र सुताऔँ ।
५.घरको झ्याल ढोकामा जाली लगाऔँ ।
६.घर वरीपरी सफा सुग्घर राखौ र पानी जम्ने खाल्डा खुल्डी पुरौ ।
७.आफु बसोबास गर्ने स्थानमा लामखुटेको लार्भा तथा अण्डा खोजी गरी नष्ट गर्ने अभियान चलाऔँ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्